१६ बैशाख २०८१, आइतबार

भैरहवा विमानस्थलको आइएलएस सञ्चालन सम्झौता हुनुपर्छः प्राधिकरण

प्रकाशित मिति :  4 January, 2024 7:13 am


काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल—भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको आइएलएस सञ्चालनको अनुमति लिने एजेण्डा बनाउन आवश्यक रहेको बताएको छ।

बिहीवार काठमाडौंमा हुने नेपाल र भारतको विदेशमन्त्रीस्तरीय संयुक्त बैठकमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको ‘इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम’९आइएलएस० सञ्चालन गर्न भारतसँग सम्झौता गर्नुपर्ने बताएको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिबिलिटी भएको समयमा विमान अवतरण गर्न भारतको आकाश प्रयोग हुने भएकाले भारत सरकारको अनुमति आवश्यक पर्छ। भारत सरकारको अनुमतिको लागि परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठकमा आइएलएस० सञ्चालनको एजेण्डा राखी सम्झौता नै आवश्यक रहेको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बताए।

बुधवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता भुलले जाडो तथा वर्षातको समयमा लाग्ने बाक्लो हुस्सुका कारण जहाज उडान तथा अवतरण प्रभावित नहोस् भनी विमानस्थल निर्माणसँगै इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम जडान गरिएको भए पनि भारतको अनुमति नहुँदा अहिलेसम्म सञ्चालन गर्न नसकिएको बताए।

उनले भिजिबिलिटी कम हुँदा पनि जहाज उडान तथा अवतरण गराउन सकिने उपकरण आइएलएस भएको र कहिलेकाहीँ भारतीय विमानले पनि प्रयोग गर्न सक्ने भएकाले दुवै देशले संयुक्त रुपमा सम्झौता गर्न आवश्यक रहेको बताए।

उनले अन्तर्राष्ट्रिय उडानमा सिमरा बाहेक थप अन्य सीमा विन्दुबाट प्रवेश गर्न नपाइने अवस्था रहेकाले अन्य प्रवेश विन्दुबाट पनि नेपालमा जहाज प्रवेश दिने सम्झौता गर्न आवश्यक रहेको बताए।

उनले भारतले सिमरा बाहेकका अन्य नेपाल प्रवेश सीमा बिन्दुबाट जहाज उडान गर्न अनुमति दिए हवाई उडान छोटो हुने हुँदा लागत पनि कम हुने र हवाई भाडा पनि कम हुने अवस्था रहेको बताए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम ९आइएलएस० जडान भए पनि सञ्चालनमा नआउँदा जाडो र वर्षातको समयमा लाग्ने बाक्लो हुस्सुका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा अहिले पनि जहाजको उडान तथा अवतरण प्रभावित हुँदै आएको छ।

भारतको चारदिने भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटमा आइएलएस सञ्चालनमा बाटो खुल्यो भने पनि अहिलसम्म सञ्चालनमा आएको छैन। भारतका विदेशमन्त्री एस जयशंकर द्विपक्षीय वार्ताका लागि बिहीवार बिहान काठमाडौं आउँदै छन्।



प्रतिक्रिया दिनुहोस !