२१ बैशाख २०८१, शुक्रबार

१ देखि ३ सय शैय्यासम्मका सरकारी अस्पतालहरूमा सरकारले नर्सिङ अध्यापन गराउने

प्रकाशित मिति :  22 January, 2024 5:19 pm


काठमाडौँ । सरकारले १ सयदेखि ३ सय शैय्यासम्मका सरकारी अस्पतालहरूमा नर्सिङ अध्यापन गराउने भएको छ । सोमवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले यस्तो बताएका हुन् ।

सचिव पोखरेलले १ सयदेखि ३ सय वेडसम्मका सरकारी अस्पतालहरूमा नर्सिङ पढाउने बोर्डले पास गरेको उल्लेख गरे । उनले १ सयदेखि ३ सय शैय्यासम्मका सरकारी प्रदेश तथा क्षेत्रीय अस्पतालहरूमा राज्यले दाहित्व लिएर नर्सिङ पढाउने तयारी गरेको बताए । उनले आगामी तीन दिनभित्र निर्णयको लागि मन्त्रीपरिषद्मा लैजाने बताए । उनले ३ सय शैय्याका अस्पतालहरूका एमबीबीएस शिक्षा पनि दिने तयारी रहेको दाबी गरे ।

उनले नर्सिङ पढाउनेलाई स्टाप र ब्याचलर नर्स दुई कोर्ष एउटै अस्पतालमा पढाउनुपर्ने व्यवस्था गर्ने बताए । उनले दुई तहलाई दुई वटा अस्पताल दिनसक्ने अवस्था नभएको बताए । १५ शैय्या सम्मका स्थानीय तहका अस्पतालहरूमा एमबीबीएस डाक्टर सरकारले पठाउन नसक्ने उनको भनाई छ । स्वास्थ्य मन्त्रालयसँग भएको २६ सय दरबन्दीमा सबै पूरा रहेको भन्दै नयाँ जनशक्ति लिन सक्दिने अवस्था नभएको स्पष्ट पारे ।

सचिव पोखरेलले चालु आर्थिक वर्षको स्थास्थ्य मन्त्रालयको ४९ अर्ब ८० करोड बजेटमा पछिल्लो ६ महिनामा १० अर्ब ४१ करोड अर्थात करिव २१ प्रतिशत खर्च भएको बताए । उनले चालु तर्फको ३७ अर्ब रुपैयाँमा ७ अर्ब ९० करोड र पुँजीगततर्फ १२ अर्ब ७३ करोडमा २ अर्ब ५१ करोड गरी २० प्रतिशत पुँजीगत खर्च भएको उल्लेख गरे ।

धेरै आयोजनाहरूको टेण्डर प्रक्रिया अगाडि बढिसकेको तर वैदेशिक खर्च २९ प्रतिशत हिस्सा बजेटमा भएपनि खर्च नहुँदा पुँजीगत खर्च कम देखिएको बताए ।

उनले मन्त्रालयको भौतिक प्रगतिमा कायक्रम सम्पन्न भएका ४८.३ प्रतिशत रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !