१७ बैशाख २०८१, सोमबार

एनआरएनएभित्र झगडा निम्त्याएर सरकार र सत्तारुढ दलले तमासा देखाइरहेका छन्ः एमाले नेता पौडेल

प्रकाशित मिति :  23 January, 2024 6:20 am


काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष एवम पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपाल संघ (एनआरएनए) माथि सरकार आफैँले चलखेल गरिरहेको आरोप लगाएका छन्।

एनआरएनएभित्र झगडा निम्त्याएर वर्तमान सरकार र सत्तारुढ दलहरुले तमासा देखाइरहेको उल्लेख गर्दै उनले त्यस्तो कार्य तत्काल बन्द हुनुपर्ने बताए।

एनआरएनएको हालै सम्पन्न निर्वाचनमा निर्वाचित कार्य समितिमाथि अविश्वास खडा गरेर सरकारले नै उनीहरुलाई कुनै राजनीतिक दलको भ्रातृ संगठनको जस्तो व्यवहार गरेको जिकिर गर्दै उपाध्यक्ष पौडेलले त्यस्तो काम सरकार र राजनीतिक दलहरुले कुनैपनि बहानामा नहुने बताए।

एनआरएनएले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एनआरएनए कोष परिचालनमा कन्जुस्याँई नगर्न पनि सरकारलाई दबाब दिए । सरकारले सो कोषको परिचालनमा कन्जुस्याँई गरेका कारण गैर आवासीय नेपालीहरुले ठूलो परियोजनामा लगानी गर्ने अवस्था नरहेको उपाध्यक्ष पौडेलको दाबी थियो । 

पौडेलले गैर आवासीय नेपालीहरुले नागरिकता पाउने र त्यसको पूर्ण रुपमा उपयोग गर्ने कुरामा आफ्नो पार्टी प्रतिवद्ध रहेको समेत बताए। 

“गैर आवासीय नेपालीहरु भित्र खेलेर त्यत्रो एउटा साझा संगठन कुनै दल विशेषको जनसंगठन वा भ्रातृ संगठन होइन गैर आवासीय नेपाली संघ भन्ने कुरा सबैले मानेको छ, भ्रातृ संगठन जस्तो गरेर ह्वीप जारी गरेर, उम्मेदवार उठाएर, निर्वाचन मान्दिन भन्न लगाएर यो तमासा कुनैपनि राजनीतिक दलहरुले गर्नुहुँदैन,” पौडेलले भने, “सरकारमा रहेका दलहरुले त गर्नु हुँदैहुँदैन, सरकारले त झन गर्नै हुँदैन ।”

एनआरएनए कोष स्थापना गरेर संसारभरी छरिएर रहेका गैरआवासीय नेपालीहरुले त्यो कोषमार्फत एउटा भिजिबल इन्भेष्टमेन्ट नेपालमा गर्ने र नेपालको आर्थिक उन्नतिमा एउटा निर्णायक योगदान दिने संकल्प सराहनीय रहेको नेता पौडेलको भनाइ छ।

उनले थप्र, “त्यो संकल्पका निम्ति अहिले जे, जस्तो कन्जुस्याईहरु गरिएका छन । त्यसबाट सरकार बाहिर आउनुपर्छ । जोसुकैको कुरा भएपनि त्यो चीजबाट बाहिर आउनुपर्छ । र, यो कोषलाई प्रभावकारी बनाउन सरकारले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।”

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !