१२ श्रावण २०८१, शनिबार

बाँकेको दक्षिण नाका बन्द हुने

प्रकाशित मिति :  4 May, 2020 1:57 pm


बाँके, २२ वैशाख ।

नेपाल–भारत सीमासँग जोडिएको बाँकेको दक्षिण नाका बन्द हुने भएको छ ।

जिल्लामा कोरोना सङ्क्रमण देखिएसँगै नेपालगञ्जदेखि १६ किमी टाढा कोहलपुर नगरपालिकाको दक्षिणतर्फको सीमा बन्द गर्ने र अन्य नाकामा कडा निगरानी गरिने कोहलपुर नगरपालिकाकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।

आपत्कालीन सेवाबाहेकका सवारी साधनलाई कोहलपुर प्रवेशमा रोक लगाइएको छ । एक साताका लागि कोहलपुरमा कुनै गतिविधि गर्न नपाइने गरी रोक लगाइएको रावतको भनाई छ ।

कोहलपुर– १५ चौधरीया गाउँबाट अपरिचित व्यक्ति नगरभित्र प्रवेश गर्ने भएकाले त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्ने, नगर क्षेत्रभित्र आयोजना हुने औपचारिक कार्यक्रम स्थगन गर्ने र भौतिक तथा पूर्वाधार निर्माणका योजनासमेत अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमित देखिएसँगै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिकाको डिएसपी रोड, धम्बोझी र एकलैनी क्षेत्रलाई यसअघि नै बन्द गरेको थियो ।

कोहलपुरमा कोरोना सङ्क्रमण फैलन नदिन सम्पूर्ण नगरवासीलाई बन्दाबन्दीको पालना गर्न आग्रह गर्दै नगरपालिकाले अत्यावश्यक एम्बुलेन्स, ग्यास र पानीबाहेकका सवारी साधनलाई प्रवेश निषेध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !