११ बैशाख २०८१, मंगलबार

सांसद बस्नेत, श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक खनाल विरुद्ध अपहरणको उजुरी दर्ता

प्रकाशित मिति :  4 May, 2020 3:56 pm


फाईल फोटो

काठमाण्डौं, २२ वैशाख ।

तत्कालीन समाजवादी पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद महेश बस्नेत, किसन श्रेष्ठ र पूर्व आईजीपी सर्वेन्द्र खनाल बिरुद्ध अपहरणको उजुरी दर्ता गराएका छन् ।

सरकारी वकिलको कार्यालय काठमाण्डौंमा सांसद यादवले आज अपहरण तथा शरीर बन्धक कसुरको जाहेरी दर्ता गराएका हुन् । यसअघि महानगरीय प्रहरी परिसर काठमाण्डौंले उजुरी लिने मानेको थिएन भने सरकारी वकिलले समेत अध्ययन गर्ने भन्दै उजुरी लिएको थिएन ।

तर, आज उजुरी दर्ता भएको  सहायक जिल्ला न्यायाधिवक्ता तथा सूचना अधिकारी नुमराज खनालले जानकारी दिए । सरकारी वकिलको कार्यालयले अब कारवाही प्रकृयाका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौंलाई पत्र पठाउने छ ।

सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले आफूलाई अपहरण गरेको भन्दै सांसद डा. यादवले वैशाख १८ गते राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएका थिए।

तत्कालिन समाजवादी पार्टी फुटाउन भन्दै वैशाख १० गते सांसद यादवलाई सांसदद्धय बस्नेत, श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक खनालले काठमाडौं ल्याएका थिए।

सांसद यादवले आफूलाई अपहण गरेको आरोप गरेको दाबी गर्दै आएका छन् भने सांसद बस्नेतसहितको टोलीले सहमतिमै काठमाण्डौं आएको तर्क गरेका छन् ।

मन्त्रीपरिषद् बैठकले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि तत्कालिन समाजवादी पार्टी फुटाउन चलखेल भएको थियो तर रातारात राष्ट्रिय जनता पार्टीसँग मिलेपछि यो विषय रोकिएको थियो । अध्ययादेश अहिले खारेज भईसकेको छ ।



प्रतिक्रिया दिनुहोस !