२१ बैशाख २०८१, शुक्रबार

आजदेखि नेपाल र क्यानडाबिच एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज

प्रकाशित मिति :  8 February, 2024 9:02 am


काठमाडौँ। आजदेखि नेपाल र क्यानडाबिच एक दिवसीय क्रिकेट श्रृंखला हुुदैछ। नेपालले क्यानडासँग हुने अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप खेल्न लागेको श्रृंखलामा नेपालले उत्कृष्ट क्रिकेट खेल्ने लक्ष्य राखेर तयारी अगाडि बढाएको हो।

नेपालले क्यानडासँग तीन खेलको श्रृंखला खेल्दैछ । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अधिकांशले प्रधानमन्त्री कप खेलेकाले तयारी छोटो रहेको उल्लेख गर्दै पछिल्लो दुई दिनमा टोलीले पनि योजनाअनुरूप काम गरेको बताए।

उनले प्रधानमन्त्री सबै खेलाडीसँग आफू सम्पर्कमा नै रहेको र अहिलेसम्म सबै खेलाडी फिट पनि रहेकाले राम्रो क्रिकेट खेल्ने जानकारी गराए।
नेपालले दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल आगामी सोमवार खेल्नेछ ।

नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले घरेलु प्रतिष्पर्धा प्रधानमन्त्री कप क्रिकेटबाट खेलेकाले टोली राम्रो रहेको अनुभव सुनाए।

केही नयाँ खेलाडी पनि रहे पनि उनीहरू दुई दिनभित्र ह्याप्पी ड्रेसिङ रुममा राम्रोसँग श्रृंखलाका लागि तयार रहेको भनाइ उनको छ।

नेपालका पूर्वप्रशिक्षक पुबुदु दसानायकेको प्रशिक्षणमा रहेको क्यानडा अनुभवी केही खेलाडीबिना नै नेपाल आएको छ । क्यानडाले पनि मार्चदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा आइसिसी क्रिकेट विश्वकप लिग–२ को शुरुवात गर्दैछ । त्यसका लागि क्यानडा नेपालल आएको हो ।

यद्यपि, क्यानडामा अधिकांश नयाँ टोली छन् । क्यानडाका कप्तान साद बिन जफरले विश्वकप लिग–२ को तयारीका लागि नेपाल नै राम्रो स्थान र टोली रहेको उल्लेख गर्दै यो श्रृंखलामा राम्रो क्रिकेट खेल्ने धारणा राखे।

केही अनुभवी खेलाडी चोटका कारण टोलीसँग बाहिर रहेको उल्लेख गर्दै अहिले टोलीमा ६ नयाँ खेलाडी समावेश भएको बताए। अहिले टोली निर्माण प्रक्रियामा रहेकाले यो टोलीबाट धेरै आशा पनि राखेको भनाइ उनको छ।

क्यानडाका प्रशिक्षक दसानायकेले एक दशक अगाडि क्यानडा धेरै राम्रो टोली रहेको उल्लेख गर्दै पछिल्ला समय टोली राम्रो लयमा फर्किएको धारणा व्यक्त गरे।

अहिले राम्रो टोली रहेकोले नै आइसिसी विश्वकप लिग–२ को सर्कलमा परेको धारणा राख्दै युएई जानुअघि आफ्नो टोलीलले राम्रो तयारी गर्ने बताए।
उनले नेपालसँग क्यानडाले धेरैभन्दा धेरै क्रिकेट खेल्ने राम्रो सम्बन्ध स्थापना गर्ने पनि धारणा राखे।

पुबुदुले पछिल्ला समय नेपाली क्रिकेटले धेरै प्रगति गरिरहेको र ती सबै खेल आफूले हेरेको पनि उल्लेख गदै नेपालसँग आफ्नो छुट्टै सम्बन्ध रहेको चर्चा गरे।

नेपाली क्रिकेट टोलीका कप्तान रोहितले क्यानडासँग खेलका लागि केही नयाँ खेलाडीका लागि अवसर हुने धारणा उनको छ। क्यानडासँगको खेलका लागि रोहितको कप्तानीमा कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ सेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललितनारायण राजवंशी, आकाश चन्द र अनिल साह छन् ।

यु–१९ विश्वकपमा राम्रो प्रदर्शन गरेपछि कप्तान देव र आकाश चन्दले टोलीमा अवसर पाएका हुन् । पवन सर्राफ, सूर्य तामाङ, अनिल साहले प्रधानमन्त्री कप एकदिवसी क्रिकेटमा राम्रो प्रदर्शन गरेपछि क्यानडासँगको श्रृंखलामा अवसर पाएका हुन् ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !