२२ बैशाख २०८१, शनिबार

त्रिविको पत्रकारिता केन्द्रीय विभागको नवनिर्मित भवन उद्घाटन

प्रकाशित मिति :  14 February, 2024 3:29 pm


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभाग बल्खुस्थित नवनिर्मित भवनको उद्घाटन भएको छ ।

बुधवार बल्खुस्थित विभागको नवनिर्मित भवनको उद्घाटन एक कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा।डा शिवलाल भुसालले गरेका हुन् । लामो सयमसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभागको नवनिर्मित भवनको उद्घाटन भएसँगै सबै कार्यक्रमहरु नयाँ भवनबाट सुरु भएको छ ।

चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै विभागका प्रमुख प्रा।चिरञ्जीवी खनालले रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा साना ठाँउ भएकाले विभागको पहलमा भवन निर्माण भएको बताए । सिमित स्रोत साधनबीच पनि विभागले गुणस्तरीय पत्रकारिता शिक्षा दिइँदै आएको उनको भनाइ छ ।

उनले पत्रकारिताको अध्यापन पनि नयाँ ढङ्गबाट लैजानुपर्छ भन्ने उद्देश्यले विभागको पहलमा विश्वविद्यालयले भवन बनाइदिएकाले आफ्नै संरचना बन्न सफल भएको दाबी गरे । उनले विभागको कुनै ठूलो कार्यक्रम र नयाँ प्रविधि राख्न समेत ठाँउको अभाव भएकाले पनि सबैको साथ सहयोगमा नयाँ संरचना र पूर्वाधार तयार बनाउन सफल भएको बताए ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा शिवलाल भुसालले पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभागको सुविधासम्पन्न संरचना बनेसँगै विभागलाई चुनौति पनि थपिएको बताए । उनले विश्वमा हुने दिनप्रतिदिन हुने नयाँ परिवर्तन,नयाँ विकास र उपलब्धीहरुलाई समेटेर देशभित्र भित्र्याउन सक्नुपर्ने उल्लेख गरे ।

भ्याली बाबुरत्न जेभी निर्माण कम्पनीले २१ करोड ५९ लाखको लगतमा भवन निर्माण गर्ने सम्झौता गरेको थियो । नयाँ भवनमा सुविधासम्पन्न कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडियो, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको सभाहल, अतिथि (विदेशी) प्राध्यापक आवास लगायत रहेका छन् । त्रिविले विसं २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, विसं २०६७ देखि विद्यावारिधि र विसं २०७४ देखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !