१६ बैशाख २०८१, आइतबार

काठमाडौँमा १६ औँ सामाजिक मञ्च सम्पन्न, ९८ देशका १४ सय संस्था संलग्न

प्रकाशित मिति :  19 February, 2024 6:12 pm


काठमाडौँ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ यही फागुन ३ देखि शुरु भएको विश्व सामाजिक मञ्चको १६ औं संस्करणका पूर्वनिर्धारित कार्यक्रम सम्पन्न भएका छन् । सोमवार आयोजकले समापन कार्यक्रम गर्दै सम्मेलन सफलतापूर्वक सम्पन्न भएको जनाएका छन्।

सम्मेलनमा छ वटा महादेशका ९८ राष्ट्रका एक हजार चार सय बढी सामाजिक संस्था र त्यसमा आबद्ध अभियन्ताहरु काठमाडौँमा भेला भई नवउदारवादी व्यवस्थाले ल्याएका संकटहरु –युद्ध, असमानता, विभेद, गरिवी, आप्रवासन, जलवायु परिवर्तन जस्ता मुद्दामा सशक्त अवाज उठाएका हुन्। 

नवउदारवादी पुँजीवादी व्यवस्थाले विश्वका वहुसंख्यक जनतालाई बहिष्करणमा पारेको भन्दै सामाजिक अभियन्ताले सम्मेलनमार्फत् विरोध जनाएका हुन् । 

समापन मन्तव्यमा भनिएको छ, “सीमित व्यक्तिहरूले आफ्नो हातमा मात्र संसारको स्रोत, साधन र सम्पत्तिमाथि एकाधिकार जमाइरहेका छन् । जनसंख्याको ठूलो हिस्सा गरिबी, वहिष्करण, विभेद तथा विभिन्न खालका समस्याको चपेटामा छ । पृथ्वी जलवायु परिवर्तन र वातावरणीय प्रदूषणका कारण संकटमा छ ।” 

विश्व समाज चुनौतिपूर्ण बनिरहेको सन्दर्भमा अर्को विश्वको खोजी गर्ने क्रममा सन् २००१ मा ब्राजिलबाट सुरु भएको विश्व सामाजिक मञ्चको १६आँै सस्ंकरण नेपालमा सम्पन्न भएको हो । विभिन्न सामाजिक आन्दोलनहरुले आ–आफ्ना विषयहरु केन्द्रीत ६० वटा भन्दा वढी घोषणापत्रहरु जारी गरेका छन् । 

फागुन ३ गते सांस्कृतिक झाँकीसहितको ऐक्यबद्धता ¥यालीबाट सुरु भएको कार्यक्रममा करिब ३० हजारभन्दा बढी सहभागीहरु एकैपटक भृकुटीमण्डप प्रवेश गरेपछि उद्घाटन सत्र सुरु भएको थियो।

टे«ड युनियनकर्मी लक्ष्मण बस्नेतले उद्घाटन समारोहको अध्यक्षता गरेका थिए। सो सत्रमा नेत्र तिम्सिनाले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन महिला अधिकारकर्मी रेनु अधिकारी राजभण्डारीले गरेकी थिइन्।

उद्घाटन समारोहमा ल्याटिन अमेरिकी देश क्युवाका राजनीतिक तथा मानवअधिकार अभियन्ता अलेदा ग्वेभेरा, भारतीय मानवअधिकारकर्मी मेधा पाटकर, राजनीतिकर्मी तथा अभियन्ता थोमस वाल्ग्रेन, किसान अधिकारकर्मी बुरी तुन्कारा गाम्बी, मानवअधिकारकर्मी ताला नासिर, अर्थशास्त्री तथा अभियन्ता जोमो कवैम सुन्दरम, दलित अधिकारकर्मी अशोक भारती, किसान अधिकारकर्मी वेन तैजुनलगायतले सम्बोधन गरेका थिए।

अन्तर्राष्ट्रिय ट्रडे युनियन महासंघ, एसिया प्यासिफिककी महासचिव शोया यशिदाले श्रमिक सम्मेलनको महत्वबारे चर्चा गरेकी थिइन् । विश्व सामाजिक मञ्चमा १३ वटा विषयगत क्षेत्रहरुअन्तर्गत आर्थिक असमानता, लैंगिक विभेद, मानवअधिकार, खाद्य सम्प्रभुता, जलवायु न्याय र यसका प्रभावहरु जस्ता विषय समेटर चार सय बढी सत्रहरूमा प्रस्तुति, कार्यशाला, छलफल र अन्तरक्रिया भएका छन् । 

कार्यक्रमकका आयोजक तथा सहभागीहरुले अभिव्यक्तिका विभिन्न माध्यमहरु जस्तै कला, सांस्कृतिक कार्यक्रम, प्रदर्शनीलगायतबाट सामाजिक विभेद, गरिबी, भोकमरी, अशिक्षा, स्वास्थ्य समस्या, बेरोजगारी, असमानता, हिंसा, द्धन्द्ध, युद्ध आदि विरुद्धमा सम्पूर्ण विश्वको ध्यानाकर्षण गरेका छन् ।

काठमाडौँबाट विश्वसम्म भन्ने नारा तय गरी सम्पन्न भएको विश्व सामाजिक मञ्चको कार्यक्रमअन्तर्गत विश्व महिला मञ्च, वल्र्ड डिगनिटी फोरम, श्रमिक अधिकार मञ्च, किसान अधिकार मञ्च, आदिवासी जनजाती मञ्च, मानवअधिकार सभा, बालबालिका सभा जस्ता अहिलेका मूल विषय र मुद्दाहरुमा व्यापक छलफल एवं बहस भएका छन् । 

कार्यक्रमका सहाभागीहरुले युद्ध, असमानता तथा समसामयिक विषयमाथि तीन दिनसम्म दैनिक चारवटा सत्रहरुमा मिश्रित सहभागिताको साथ प्रत्यक्ष्य तथा इन्टरनेटका माध्यमबाट प्रसारण गरिएका सत्रहरूमा झन्डै पचास हजार सहभागीहरुको उपस्थिति रहेको थियो ।

विश्व सामाजिक मञ्च सम्बद्ध अन्तर–महादेशीय युवा मञ्च र संसदीय मञ्च समेत सम्पन्न भएका छन् । विश्व सामाजिक मञ्च सामाजिक अभियन्ताहरूको थलो हो । समाजमा पिँधमा रहेका महिला, युवा, किसान, दलित, श्रमिक, आदिवासी जनजाती, मधेशी, अपांगता भएका मानिसहरू, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय आदिको आवाज लिएर विश्व सामाजिक मञ्च अगाडि आएको हो ।

समापन मन्तव्यमा भनिएको छ, मञ्च एउटा आर्थिक सामाजिक रूपान्तरणका लागि सुरु भएको आन्दोलन पनि हो । संसारभरका अभियानकर्ताहरूलाई नेपालले लोकतन्त्र प्राप्तीका लागि गरेको संघर्ष, प्राप्त उपलव्धि र त्यसमा सामाजिक आन्दोलनको महत्वपूर्ण योगदान रहेको विषय जानकारी गराउँदै विश्वमा भएका विभिन्न संघर्ष र त्यसबाट प्राप्त भएका उपलव्धीका वारेमा पनि जानकारी हासिल गर्दै यस मञ्च सम्पन्न गरेका छौँ ।”

करिब एक वर्ष अगाडिदेखि अन्तर्रास्ट्रिय परिषद्, एसिया प्यासिफिक सामाजिक मञ्च, नेपाल आयोजक समितिलगायतको समन्वय, निरन्तर सम्वाद, कार्ययोजना अनुरुप विश्व सामाजिक मञ्च २०२४ सम्भव भएको जनाइएकाे छ।

यस मञ्चलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुभकामना सन्देश पठाएर ऐक्यबद्धता जनाएका थिए। मञ्चलाई सफल बनाउन प्रत्यक्ष तथा परोक्ष सहयोग गर्ने सबैलाई सम्मेलनले आभार व्यक्त गरेको छ । 

विश्व सामाजिक मञ्च, नेपाल आयोजक समितिले समापन सन्देशमा भनिएको छ, “२१ औँ शताब्दी अनुरुपको विश्वमा सबै मानव जातिलाई समान व्यवहार र सम्मानजनक जीवनयापनका लागि यो सामाजिक मञ्च कोशेढुंगा सावित हुने आशा र विश्वास गर्दछौँ।”



प्रतिक्रिया दिनुहोस !