४ जेष्ठ २०८१, शुक्रबार

स्वास्थ्य संस्थामा गरिने परीक्षण र उपचारको शुल्क निर्धारण गर्न सांसद तोषिमा कार्कीको माग

प्रकाशित मिति :  22 February, 2024 4:02 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य संस्थाहरुले गर्ने परीक्षण र उपचार खर्चमा एकरूपता ल्याउन मापदण्ड बनाउनुपर्ने बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले तरकारीदेखि तेलसम्म र नुनदेखि सुनसम्मको मूल्य राज्यले तोकिदिएको भएपनि बिरामीको उपचारजस्तो अति संवेदनशील विषयमा राज्यले कुनै शुल्क नतोकेको बताइन् ।

उनले परीक्षण र उपचारको कुनै शुल्क निर्धारण नहुँदा निजी र सरकारी स्वास्थ्य संस्थाहरुले आफूखुसी शुल्क लिइरहेका भन्दै यसको नियमन हुनुपर्ने बताइन् ।

उनले स्वास्थ्य उपचार गर्न पनि लुगा र जुत्ता बेचेजस्तो मोलमोलाइ भइरहेको बताइन् । एउटै ल्याब परीक्षणमा पाँच गुणा बढीसम्म शुल्क लिइएको प्रमाण आफूले भेटेको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले शुल्क निर्धारण समितिलाई तत्काल सक्रिय बनाएर शुल्क निर्धारण गर्न सरकारसँग माग गरिन् ।

उनले भनिन्,”सभामुखमार्फत स्वास्थ्यमन्त्रीज्युलाई आग्रह गर्दछु, स्वास्थ्य मन्त्रालय अन्तर्गतको शुल्क निर्धारण समितिलाई तत्काल सक्रिय बनाइयोस् । र स्वास्थ्य संस्थाहरुमा दिइने स्वास्थ्य सेवाहरुको वर्गीकृत आधारमा शुल्क निर्धारण गरेर नागरिकले थाहा पाउने व्यवस्था मिलाइयोस् ।हामीसँग विज्ञहरु पनि छन् । कस्तो गर्न सकिन्छ, कसरी गर्न सकिन्छ भनेर खाका पनि छ । मागोस्, सोधोस्, खोजोस् । हामी तयार छौँ सहयोग गर्नका लागि ।”

उनले बिरामीहरू कहाँ सस्तोमा उपचार गर्न पाइन्छ भनेर भौँतारिएर हिँड्नुपर्ने अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !