४ जेष्ठ २०८१, शुक्रबार

फागुन १३ गतेदेखि दादुरा–रुबेलाविरुद्ध खोप अभियान सुरू हुने

प्रकाशित मिति :  23 February, 2024 5:54 pm


काठमाडौँ । सरकारले फागुन १३ गतेदेखि देशभर राष्ट्रिय दादुरा-रुबेला खोप अभियान २०८० सञ्चालन गर्ने भएको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा परिवार कल्याण महाशाखाले यसबारेमा जानकारी दिएको हो ।

खोप अभियान फागुन १३ गतेदेखि चैत्र ७ गतेसम्म सञ्चलन हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले दादुरा, रुबेला क्याम्पियन अभियानको रूपमा खोप कार्यक्रम फागुन १३ देखि चैत्र ७ गतेसम्म अधिराज्यभर सञ्चालन गर्न लागेको बताए । उनकाअनुसार रुकुमपश्चिम र जाँजरकोटमा भने खोप अभियान सकिसकेको छ ।

बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले जाजरकोटमा ९९ प्रतिशतमा दादुरा खोप पु¥याएको बताए । उनले जाजरकोटमा दादुरा-रुबेला खोप लगाउने बालबालिकाहरूको संख्या ८८ हजार ३४४ रहेको बताए । उनले रुकुमपश्चिममा १०७ प्रतिशतमा दादुरा खोप पु¥याएको बताए । उनले रुकुमपश्चिममा भ्याक्सिन लगाउनेको संख्या ५० हजार ४ सय ८७ रहेको बताए ।

दादुरा-रुबेला खोप अभियानमा लक्षित समूह ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरु र ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरु रहेका छन् ।

यस अभियानमँ तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइनेछ । बाँकी जिल्लाहरूमा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरूलाई लगाइनेछ । खोप नियमति खोपकेन्द्र सञ्चालन हुने स्थान, विगतका खोप अभियानमा सञ्चालन गरिएका खोपकेन्द्र एवं स्वास्थ्य संस्थाबाट प्रदान गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !