२० बैशाख २०८१, बिहिबार

नेत्रज्योति संघका महासचिव चन्द इन्डोनेसियामा सम्मानित

प्रकाशित मिति :  25 February, 2024 7:54 am


काठमाडौँ। नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दलाई एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी (अपाओ) ले सम्मान गरेको छ।

नेपालमा अन्धोपन निवारणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै अपाओले यस बषको ‘आउटस्टान्डिङ सर्भिस इन प्रिभेन्सन अफ ब्लाइन्डनेस अवार्ड’ बाट चन्दलाई सम्मान गरेको हो ।

फेब्रुअरी २२ देखि २५ सम्म इन्डोनेशियाको बालीमा जारी आँखा रोग विशेषज्ञहरुको वार्षिक सम्मेलन कार्यक्रममा चन्दलाई सम्मानित गरिएको हो । यो अवार्ड बार्षिक रुपमा एसिया–प्रशान्त क्षेत्रमा अन्धोपन रोक्न महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरुलाई प्रदान गर्ने गरिन्छ ।

नेपालमा आँखा उपचार सेवाको विस्तार र अन्धोपन निवारणमा लामो समयदेखि सक्रिय रहेका चन्दले संघको गुल्मी शाखाको सभापति रहँदा गुल्मी जिल्लालाई मोतिबिन्दु रहित जिल्ला घोषणा गराउने अभियानको सुरुवात गरेका थिए ।

संघको सचिव तथा महासचिव पदमा रही नेपालमा आँखा स्वास्थ्य सेवाको विस्तार र अन्धोपन निवारणमा महत्वपुर्ण भुमिका निर्वाह गरेका छन्।

सन् १९६० मा स्थापना भएदेखि अपाओले अन्धोपन कम गर्नको लागि यस क्षेत्रमा शिक्षा, आँखा सेवा र अनुसन्धानमार्फत नेतृत्व गर्दै आएको छ ।

अन्धोपन विरुद्ध लड्न एसिया–प्रशान्त क्षेत्रका आँखा विशेषज्ञ तथा आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संगठनहरूबीच घनिष्ट सम्बन्ध विकास गर्ने प्रमुख उद्देश्यका साथ काम गदै आईरहेको छ ।

वि.स २०३५ सालमा नेपालमा आँखा उपचार सेवाको विकास र विस्तारको लक्ष्य सहित एक गैर नाफामुलक संस्थाका रुपमा स्थापना भएको नेपाल नेत्रज्योति संघ अन्तरगत हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरु संचालनमा छन् ।

संघ अन्तरगतका आँखा अस्पताल, आँखा उपचार केन्द्र मार्फत बार्षिक ३० लाख बढि बिरामीको आँखा जाँच हुने गर्दछ ।

स्थापना देखि सन् २०२२ सम्ममा संघको नेटवर्क मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !