१२ श्रावण २०८१, शनिबार

सशर्त उद्योगहरु सञ्चालन गर्न दिने सरकारको निर्णय

प्रकाशित मिति :  6 May, 2020 8:54 pm


काठमाण्डौं, २४ वैशाख ।

सरकारले लकडाउन लम्ब्याएपनि सशर्त विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न अत्यावश्यक उद्योग व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको मापदण्ड पालना गरेर उद्योगहरुले आफ्नो काम सञ्चालन गर्नुपर्ने छ । मन्त्रिपरिषद् बैठकले खाद्यान्न प्रसोधन, पशुपंक्षी पालन उद्योग, धान,चामल र चिउरा उद्योग दुग्ध प्रशोधन उद्योग, धान,चामल र चिउरा उद्योग, हेभि मेसिनरी औजार मर्मतसंभार, खनिजजन्य उद्योग र खानी, इँट्टा उद्योग, पशुपंक्षी दाना उद्योग, खाने तेल तथा घ्यू उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

त्यस्तै कफी, चाउचाउ, विशेष आर्थिक क्षेत्रमा सञ्चालिन सबै उद्योग,औद्योगिक क्षेत्रका सबै उद्योग, मसला, दाल, बालुवा प्रशोधन तथा क्रसर उद्योग, सिमेन्ट उद्योग, फलाम तथा स्टिल उद्योग, पेन्टिङ्स उद्योग, ढुवानी तथा कार्गो सेवा, छापाखाना तथा प्रेस सम्बन्धि उद्योग,विद्युत उत्पादन तथा प्रशारण सम्बन्धि काम लगायतका उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

उद्योगहरुले स्वास्थ्य सुरक्षा सम्बन्धि सबै मापदण्ड पुरा गरेर उद्योग सञ्चालन गर्ने निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिए । तर,विद्यालय,सिनेमा हल लगायत भिडभाड हुने ठाँउहरु भने बन्द रहने छन् भने लकडाउनका क्रममा जारी अन्य नियम पनि यथावत रहने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !