४ जेष्ठ २०८१, शुक्रबार

पुष्प व्यवसायलाई आधुनिकीकरण गर्दै आत्मनिर्भर बनाउनुपर्छ:मन्त्री साह

प्रकाशित मिति :  16 March, 2024 8:46 pm


काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले पुष्प व्यवसायीलाई आधुनिकीकरण गर्दै आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएकी छन् ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजनामा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ भृकुटीमण्डपमा तीन दिनदेखि जारी २५औँ फ्लोरा एक्स्पो अवलोकन गर्दै उनले सो कुरा बताएकी हुन् ।

उनले यो क्षेत्रलाई चाँडै नै आत्मनिर्भर बनाउन सकिने अवस्था रहेको बताउँदै  फुलको उपयोगिताको बारेमा चेतना फैलाउँदै यसको उत्पादनमा जोड दिन समेत आग्रह गरिन् ।

मेलामा व्यावसायिक ६०, ल्याण्डस्केपिङ तीन, अफिसियल आठ, प्रतियोगितात्मक प्रदर्शनी एक र फूड एक वटा फूडसहित जम्मा ७३ वटा स्टल रहेको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । भोलिसम्म मेलालाई करिब ५० हजारले अवलोकन गर्ने जनाउँदै उनले एक करोड आर्थिक कारोबार हुने विश्वास लिइएको बताए । दुई दिनमा पचास लाखको कारोबार भएको उनले बताए।

मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय ५० र विद्यार्थीका लागि एक सय शुल्क तोकिएको आयोजकले जनाएको छ ।

मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही मात्रा सयपत्रीका मालामात्रै भारतबाट ल्याउने गरिएको भन्दै अन्य समयमा प्रयोग हुने फूलमा मुलुक आत्मनिर्भर भइसकेको एसोसिएसनले जनाएको छ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ ।

नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ ।

कात्तिकदेखि फागुनसम्म विभिन्न चार्डपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले फूल खेती गर्दै आएका एसोसिएसनका अध्यक्ष तामाङले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !