२३ बैशाख २०८१, आइतबार

भारतले नेपाली भूमिमा सडक सञ्चालन गरेपछि दलका नेताहरुको चर्को विरोधः सडक बन्दासम्म सरकारले किन थाहा पाएन ?

प्रकाशित मिति :  9 May, 2020 10:41 am


काठमाडौं, २७ वैशाख । 

भारतले लिपुलेकमा नेपाली भूमिभित्रै सडक सञ्चालनमा ल्याएपछि सत्तारुढ र अन्य राजनीतिक दलका नेताले विरोध जनाएका छन् ।

उनीहरुले समाजिक सञ्जालमार्फत भारतीय कृयाकलापको विरोध गर्दै सडक बन्दासम्म सरकारले किन थाहा नपाएको भन्दै प्रश्न गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नाराणकाजी श्रेष्ठले नेपाली भूमिमा सडक बनाई हिजो भारतले उद्घाटन गरेको कार्यप्रति आपत्ति प्रकट गरेका छन् ।

उनले भनेका छन्,‘ भारतले अनधिकृत रुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्विकार गरेको पश्चिम क्षेत्रको नेपाली भूमिमा सडक बनाई हिजो उद्घटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भत्र्सना गर्दछु । हामी सबै कोरोना बिरुद्ध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको बिरुद्ध सरकारले तु कदम चालोस् ।’

नेकपा स्थायी कमिटी सदस्य भिम रावलले आफ्नो धारणा प्रष्ट पार्न सरकारलाई आग्रह गरेका छन् । उनले यसरी सडक बन्दासम्म के सरकारलाई थाहा भएन ? भन्दै प्रश्न गरेका छन् । रावलले भनेका छन्,‘ नेपालको दार्चुला जिल्ला गुञ्जीबाट लिपुलेकसम्म अतिक्रमण गर्दै भारतले सडक निर्माण गरेको भन्ने दुःखद खबर छ । नेपाल सरकारको धारणा के हो ? यसरी सडक बन्दासम्म के सरकारलाई थाहा भएन ? मृतभूमि र जनताको सुरक्षा गर्नु सरकारको पहिलो दायित्व हो भन्ने सबैले बुझेको हो । यो पनि स्मरण गरौं ।’

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले एकपक्षीय रुपमा सडक निर्माण गर्नु गलत भन्दै तत्काल कुटनीतिक तहमा हल गर्न सुझाव दिएका छन्,‘ कालापानी र सुस्ता क्षेत्रबारे सीमावार्तामा दुबै पक्षले टुंग्याउन बाँकी भनेर मान्दै आएको स्थितिमा भारतले एकपक्षीय रुपमा सडक निर्माण गर्नु गलत छ । हाम्रो मिडियामा रिपोर्ट आएपछि वा चुनवाका बेला मात्र तात्ने र अरु बेला कानमा तेल हालेर सुत्ने कमजोरी छ । यसलाई तुरुन्त कुटनीतिक तहमा हल गर !’

राप्रपाका अध्यक्ष कमल थापाले नेपाली भूमिमा भारतीय सेना फिर्ता गर्नुको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातको निमित्त खोलिएको तथ्य सार्वजनिक भएको भन्दै आपत्ति जनाएका छन् । उनले यसबार तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गरेका छन् । उनले भनेका छन्,‘ लिम्पियाधुरा लिपुलेक नेपाली भूमि हो । त्यहाँ रहेका भारतीय सेना फिर्ता गर्नुको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातको निमित्त खोलिएको तथ्य सार्वजनिक भएको छ । भारत सरकारको यस कार्यको भत्सर्ना गर्दछु । यसबारे नेपाल सरकारको उदासिनता खेदजनक छ । यसबारे अविलम्ब आवश्यक कदम चाल्न सरकारसँग माग गर्दछु । ’

भारतीय रक्षामन्त्री राजनाथ सिंहले हिजो मात्रै लिपुलेक हुँदै मानसरोवर जोड्ने सडकको भिडियो कन्फरेन्स मार्फत सडकको उद्घाटन गरेका थिए ।

उनले पिथौरागढदेखि गुञ्जीसम्म औपचारिक रुपमा गाडी सञ्चालनको उद्घाटन गरेको ट्वीट मार्फत सार्वजनिक गरेका छन् । यसअघि भारतले नेपाली भूमि समेत समावेश गरेर नक्सा सार्वजनिक गरेको थियो ।

चर्को विरोध भएपछि नेपाल सरकारले कुटनीतिक पहल मार्फत समस्या समाधान गर्ने र नेपालको पनि नक्सा सार्वजनिक गर्ने बताएको थियो । तर यो बीचमा नै भारतले सडक निर्माण पुरा गरेर पनि नपाली भूमिलाई आफ्नो भन्दै सवारी साधन सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित समाचार

मिचेको नेपाली भूमिमा भारतद्धारा सडक निर्माण गरेर मानसरोवरका लागि यातायात सञ्चालन



प्रतिक्रिया दिनुहोस !