२१ बैशाख २०८१, शुक्रबार

पर्वतका व्यावसायिक कृषकले लगाएको टमाटरमा टुट्टा किराको प्रकोप

प्रकाशित मिति :  11 May, 2020 10:55 am


पर्वत, २९ वैशाख ।

पर्वतका व्यवसायिक कृषकले लगाएको खेतीबालीमा टुट्टा नामक किराको प्रकोप बढेको छ ।

खुला ठाउँमा र प्लाष्टिक टनेल गरी दुवै किसिमका स्थानमा लगाइएको व्यावसायिक तरकारी खेतीमा टुट्टा किराको आक्रमण फैलिन थालेपछि किसान समस्यामा परेका छन् । मौसममा आएको खराबीका कारण विशेषगरी गोलभेँडामा यो किराको सङ्क्रमण बढेको कृषि ज्ञान केन्द्र पर्वतले जानकारी दिएको छ ।

जिल्लाको कुश्मा नगरपालिका–११ पकुवा, जलजला गाउँपालिका–७ धाइरिङ, ८ नाग्लीवाङ, फर्सेलगायतका स्थानमा रहेका व्यावसायिक तरकारी फार्ममा गोलभेँडामा टुट्टा किराले बालीनाली नष्ट गरेको हो । जलजला गाउँपालिका–७ धाइरिङमा लगाइएको गोलभेँडामा पातमा आक्रमण गरेको यो किराले विस्तारै बोट र फलसमेत खाएर नोक्सान गर्ने कृषि प्राविधिकले जानकारी दिएका छन् ।

पुत्ला जातको यो किराले किसानलाई बाली पाक्ने बेलामा सबैभन्दा बढी सताउने गरेको जलजला–७ का अगुवा कृषक सागर सुवेदीले जानकारी दिनुभयो । पकुवाका सूर्यबहादुर केसी, गणेश पौडेल र दीपेन्द्र क्षेत्रीको व्यावसायिक कृषि फार्ममा अत्यधिकरुपमा टुट्टाले आक्रमण गरेको छ ।

रोग नियन्त्रण गर्न कीटनाशक विषादीको प्रयोग गर्न सकिने कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले सुझाएका छन् । धेरै मात्रामा आक्रमण गरेको भए विषादी प्रयोग गर्ने र थोरै मात्रामा भए बजारमा पाइने किरा आकर्षण गर्ने एक प्रकारको पासो थापेर मार्न सकिने रेग्मीले बताए ।
आक्रमण रोक्न मोहनी पासो थापेमा नियन्त्रण गर्न सकिन्छ । प्रायजसो धेरै पानी परेको समयमा यो किराको आक्रमण बढ्ने कृषि प्राविधिक बताउँछन् । कोरोना भाइरस असिना र किराको प्रकोपले कृषक समस्यामा परेको ज्ञान केन्द्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !