१३ बैशाख २०८१, बिहिबार

प्यूठानमा नियमित खोप पुनः शुरु

प्रकाशित मिति :  16 May, 2020 2:48 pm


प्यूठान, ३ जेठ ।

प्यूठानमा कारोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण रोकिएकोे नियमित खोप पुनः शुरु भएको छ ।

बालबालिकाको स्वास्थ्यलाई ध्यान दिँदै जिल्लामा दुई चरणमा खोप लगाउन शुरु गरिएको हो । प्यूठान जिल्लाका नौ स्थानीय तहमध्ये पहिलो चरणमा झिमरुक, गौमुखी, नौबहिनी र मल्लरानी गाउँपालिकाका २१ स्वास्थ्य संस्थाबाट बालबालिका र गर्भवतीलाई खोप दिन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

बालबालिकालाई नियमितरुपमा दिइँदै आएको बिसिजी, डिपिटी, पोलियो, हेपाटाइटिस बी, दादुरा–रुबेला, पिसिभी, जापानिज इन्सेफलाइटिसलगायत ११ रोगविरुद्धका खोप र गर्भवतीलाई दिइने टिडी खोप वैशाखभर रोकिएको थियो । खोप छुटाउँदा बालबालिकालाई असर पर्ने विषयलाई ध्यान दिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनानुसार खोप शुुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको    छ ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन स्वास्थ्यकर्मीले सुरक्षित सामग्री प्रयोग गरी खोप लगाउन शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक कौशलराज वैद्यले जानकारी दिए ।

चार स्थानीय तहमा २ देखि ६ गतेसम्म र बाँकी पाँच स्थानीय तहमा ९ देखि १३ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । खोेपबाट करीब छ हजार बालबालिका स्वास्थ्य सेवाबाट लाभान्वित हुने वैद्यको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !