२२ बैशाख २०८१, शनिबार

मोटर बीमा शुल्कमा छुट दिन बीमा समितिको निर्देशन

प्रकाशित मिति :  19 May, 2020 10:36 pm


काठमाण्डौं, ६ जेठ । 

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई लकडाउन अवधिको मोटर बीमा शुल्कमा छुट दिन निर्देशन दिएको छ । समितिले सोमबार विज्ञप्ती जारी गर्दै लकडाउन अवधीभरको बीमा शुल्क आगामी वर्षको बीमा नविकरणमा छुट दिन निर्देशन दिएको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले लकडाउन घोषणा गरिएको अवस्थामा अधिकांश सवारीसाधन पूर्ण रुपमा थन्किएको तथा केही सवारीसाधन आंशिक र अति न्यून रुपमा मात्र चलेकोले बीमा जोखिम पनि न्यून हुने भएको भन्दै समितिले बीमितहरुलाई प्रिमियममा केही राहत दिन निर्देशन गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बीमा समितिका अनुसार सवारीसाधन प्रयोगमा नरहेको सूचना सम्बन्धमा नेपाल सरकारले लकडाउन घोषणा गरेको मिति ०७६ चैत ११ लाई लिने र समयावधि नेपाल सरकारले लकडाउन हटाएको समयसम्म कायम गर्नुपर्ने जनाएको छ ।

अत्यावश्यक सेवाका सवारीसाधनको हकमा नेपाल सरकारले सूचना जारी गरी सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको अवधिसम्मको लागि थन्किएको अवधि गणना गर्ने र त्यो बाहेक अन्य सबै सवारीसाधनको हकमा थन्किएको अवधि गणना गर्दा चैत ११ देखि लकडाउन नसकिएसम्मको अवधि गणना गर्नुपर्ने जनाएको छ । यस्तै समितिले चालू बीमा अवधिमा दाबी परिसकेको सवारीसाधनको हकमा थन्किएको अवधिको लागि छुट लागू नहुने जनाएको छ।

यस्तै, उपरोक्त बमोजिम थन्किएको अवधिको बीमाशुल्क छुटको गणना भने सवारीसाधनको कुल वार्षिक बीमाशुल्कको एक तिहाइ रकम थन्किएको अवस्थाको जोखिमको लागि कट्टा गरी बाँकी दुई तिहाइमा समानुपातिक रकम छुट दिनुपर्ने उल्लेख गरेको छ ।

समितिका अनुसार कुल प्रिमियम हिसाब गर्दा तेस्रो पक्ष, यात्रु, कर्मचारीको बीमा लगायत जोखिम समूह समेतको हिसाब गर्नुपर्ने जनाइएको छ भने यसरी प्रदान गरीने छुट रकम, सवारीसाधन बीमाको नवीकरण गर्दा नवीकरण बीमा शुल्कमा समायोजन गर्ने र सवारीसाधनको अन्यत्र बीमकसँग नवीकरण हुने अवस्थामा बीमितको अनुरोधमा बीमकले छुट रकमको प्रमाणपत्र उपलब्ध गराउनुपर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !