रिलायन्स स्पिनिङ मिल्सद्वारा ३० प्रतिशत नगद लाभांश वितरण
काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीको बिहीबार सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रस्ताव अनुमोदन गर्दै उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीको चुक्ता पुँजी एक अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गरिनेछ। उक्त लाभांशमा प्रचलित कानुनबमोजिम लाग्ने करसमेत समावेश गरिएको कम्पनीले जनाएको छ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण भएको वित्तीय विवरणसमेत पारित गरेको छ।
गोल्याण ग्रुपअन्तर्गतको रिलायन्स स्पिनिङ मिल्स नेपालको प्रमुख निर्यातमूलक तथा रोजगारदाता उद्योगमध्ये एक हो। कम्पनीले साधारणसभामार्फत व्यवसाय विस्तार तथा उत्पादन विविधीकरणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ।
संशोधित प्रबन्धपत्रअनुसार कम्पनीले अत्याधुनिक प्रविधिमा आधारित उद्योग स्थापना गरी अल्लो, हेम्प, केरा लगायतका प्राकृतिक फाइबरबाट धागो उत्पादन गर्ने योजना अघि बढाएको छ।
यसका साथै विभिन्न प्रकारका कपडा तथा गार्मेन्ट उत्पादन र फाइबर, धागो तथा कपडाको रङ्गाईसम्बन्धी व्यवसायसमेत विस्तार गर्ने भएको छ।
प्राकृतिक स्रोतमा आधारित फाइबरलाई आधुनिक प्रविधिसँग जोडेर मूल्य अभिवृद्धि गर्ने तथा धागो, कपडा र तयारी पोशाक उत्पादनमा प्रवेश गर्ने कम्पनीको योजनालाई व्यवसाय विविधीकरणको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
साधारणसभाले कम्पनीको सञ्चालक समितिको संरचनामा पनि परिवर्तन गरेको छ। संशोधित व्यवस्थाअनुसार संस्थापक शेयरधनी समूहबाट चार जना, सर्वसाधारण शेयरधनी समूहबाट एक जना र एक जना स्वतन्त्र सञ्चालक गरी कुल छ सदस्यीय सञ्चालक समिति रहनेछ।
यसअनुसार संस्थापक शेयरधनी समूहबाट पवनकुमार गोल्याण, शशीकान्त अग्रवाल, अक्षय गोल्याण र किरण देवी अग्रवाल सञ्चालक निर्वाचित भएका छन्। सर्वसाधारण शेयरधनी समूहबाट बसन्त नाहटा निर्विरोध निर्वाचित भएका छन्।
साधारणसभाले वरिष्ठ अधिवक्ता हरिश्चन्द्र सुवेदीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णयसमेत अनुमोदन गरेको छ।









