१२ श्रावण २०८१, शनिबार

नेपाली मूलका कृषि बैज्ञानिकलाई अस्ट्रेलियामा साइन्स एण्ड इनोभेसन अवार्ड

प्रकाशित मिति :  21 May, 2020 8:00 am


काठमाडौं, ८ जेठ ।

अष्ट्रेलियाको केन्द्रीय कृषि, जल तथा वातावरण विभागद्धारा वितरण हुने यो बर्षको साइन्स एण्ड इनोभेसन अवार्ड नेपाली मूलका कृषि बैज्ञानिक डा. दिनेश काफ्लेले जितेका छन् ।

अस्ट्रेलियन ब्यूरो अफ एग्रिकल्चरल एण्ड रिसोर्स इकोनोमिक्स एण्ड साइन्सेसले राजधानी क्यानबेरामा आयोजना गरेको बिशेष कार्यक्रमा संघीय मन्त्री डेभिड लिटलप्राउडले काफ्लेलाई कपास खेती अनुसन्धन तर्फ यो पुरस्कार प्रदान गरेका थिए ।

डा. काफ्लेले प्राप्त गरेको विज्ञान तथा नविनतम आविस्कार सम्बन्धि यो पुरस्कारकोलागि अस्ट्रेलियाको कटन रिसर्च एण्ड डिभलपमेन्ट कोपरेसनले सहयोग गरेको हो। काफ्ले पुरस्कार स्वरुप कपास खेतिबारे अनुसन्धानको लागि २० हजार अस्ट्रलियन डलर जितेका छन् ।

सिलिकन तत्वको प्रयोग गरेर कपासको विरुवामा रोग प्रतिरोधात्मक क्षमता बढाउने बारेमा डा. काफ्लेले एक बर्ष सम्म अनुसंधान गर्ने छन् । नेप्लिज अष्ट्रेलियन.कम.एयुले जनाएको छ ।

पुरस्कृत भएपछि डा. काफ्लेले भनेका छन्,‘अनुसन्धान सफल भएमा कपास खेतिको आधुनिकिकरण र रोग तथा किरासँग लड्न सक्ने क्षमता धेरै भएका बिरुवा उत्पादनका लागि उल्लेख्य प्रगति हुनेछ ।’

सुर्खेतको दशरथपुरमा जन्मे हुर्केका डा. काफ्लेले चितवनको रामपुरमा कृषि विज्ञान पढेका थिए । पछि इजराइलमा कृषि बिषयमा स्नातकोत्तर गरेका हुन् । डा. काफ्लेले जर्मनीको फ्रिइ युनिभर्सीटी बर्लिनबाट इकोलोजीमा विद्यावरिधी गरेका थिए ।
श्रीमती र एक छोरा सहित २०१७ देखि उनी अस्ट्रेलियाको ब्रिसवेनमा बस्छन् ।

अस्ट्रेलियाको कपास खेतीमा १२ हजार भन्दा बढीले रोजगारी पाएका छन् । बार्षीक पाँच सय मिलियन जनसंख्यालाई कपडा पुग्ने कपास अस्ट्रेलियाले उत्पादन गर्छ ।

नेपालमा कपास खेती अहिले प्राय शून्य छ । डा. काफ्ले यो अनुसन्धान सफल भए आफूले सिकेको ज्ञान र प्रविधि नेपालमा पनि हस्तान्तरण गर्न सकिनेमा आशावादी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !