२५ बैशाख २०८१, मंगलबार

ललितपुर महानगरपालिकाले कौशी खेतीलाई प्रवद्र्धन गर्न निःशुल्क बीउ र मल वितरण गर्ने

प्रकाशित मिति :  22 May, 2020 4:45 pm


काठमाण्डौं,९ जेठ ।

ललितपुर महानगरपालिकाले कौशी खेतीलाई थप प्रवद्र्धन गर्न निःशुल्क तरकारीको बीउ र मल वितरण गर्ने भएको छ ।

सबै वडामा रायो, मुला, धनिया, बोडी, सिमी, फर्सी आदिको बीउ वितरण गर्ने तयारी गरिरहेको महानगरपालिकाले जनाएको छ । अन्यत्रबाट आएका तरकारी नगरवासीले प्रयोग नगरुन् भन्ने सोचका साथ बीउ वितरण गर्न लागेको वडा नं १५ का वडाध्यक्ष सुदर्शन मिश्रले जानकारी    दिए ।

उनले भने,‘कौशीखेती प्रवद्र्धनमा जोड पुगोस् भन्ने लक्ष्यका साथ महानगरपालिका अघि बढेको हो ।’ कौशी तथा करेसा या खेतबारीमा तरकारी उत्पादन गरी १० देखि १५ दिनभित्र महानगरवासीले रायो र तोरीको साग नै भए पनि फलाएर भान्छा चलाउन सफल हुन्छन् भन्ने उनको बुझाई छ ।

बीउ लैजाने किसानको उत्पादनलाई बढवा दिन ‘दिव्या ब्राण्ड गड्यौला मल’ वितरण गर्ने भएको छ । घर हुने जनताले राम्ररी तरकारी फलाउन आधादेखि एक किलो कम्पोष्ट मल पनि निःशुल्क पाउने भएका छन् ।

वडा नं १५ मा रहेका लगभग दुई हजार घरलाई यी बीउ र मल वितरण गर्ने तयारी भइरहेको छ । ‘हाम्रो वडामा रहेका २३ टोल सुधार समितिका अध्यक्षलाई बोलाएर आ–आफ्ना ठाउँमा यी वस्तु वितरण गर्न लगाउने भएको छु’, उनले भने । गोदावरी र महालक्ष्मी नगरपालिकाले पनि यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ वितरण गरिरहेका छन् ।

कोरोनाका कारण बहालमा बस्ने जनताले राहत लिएसँगै घरजग्गा हुने जनताले बन्दाबन्दीमा धानलगायत तरकारीको बीउबिजन खरिद गर्न जान नपाएका कारण उनीहरुको समस्या समाधान गरी दिन यी दुई नगरपालिकाले सहयोग गरेका हुन् । ललितपुरमा रहेका तीन गाउँपालिका वाग्मती, महाँकाल र कोञ्ज्योसोममध्ये वाग्मतीले वडा नं ४ प्युटारका ४९० किसानलाई धानलगायत तरकारीको बीउबिजन निःशुल्क वितरण गरिसकेको वडाध्यक्ष नारायणबहादुर घलेले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !