१५ बैशाख २०८१, शनिबार

कोरोना संकटका बेला अमानीय र बर्बर नबनौं

प्रकाशित मिति :  30 May, 2020 1:02 pm


कोभिड—१९ का कारण सिर्जित भय र त्रासले नेपाली समाजको एउटा तप्का अमानवीय र बर्बर बन्ने अवस्था देखियो । जिम्मेवार व्यक्ति र निकाय यस विषयमा समयमा नै गम्भीर नहुने हो भने यसले कोभिड-१९ महामारी बिरुद्धको संर्घर्षलाई नै कमजोर बनाउने छ ।

वास्तवमा भाइरस प्रत्यक्ष सम्पर्कवाट सर्ने हो नजिको ठाउँमा क्वारेन्टाइन र आइसोलेसन राखेर होइन भन्ने कुरा पनि अझैसम्म स्थापित गर्न सकिएको छैन । यतिसम्मको चिकित्सक र स्वास्थकर्मीमा समेत यस विषयमा पर्याप्त भ्रम देखिन्छ । कोरोनाको उपचारका सन्दर्भमा सुरुमा डरमान्ने र पछि सहज हुने अवस्था आम रुपमा देखिएको छ । कोरोनाको उपचारका लागि तयार गरिएका अस्पतालमा बिरामी लगेर नराख्दासम्म डर रहीरहँने देखिन्छ ।

त्यसका लागि सरकारले उपचार हुँने सबै अस्पतालमा निश्चित संख्यामा बिरामी पठाएर मानसिक रुपमा तयार गर्नु राम्रो हुन्छ । बिरामीको उपचार गर्न सुरु गरेपछि चिकित्सक र स्वास्थकर्मीमा डर हटेको र मनोवल बढेको देखिन्छ । यतिसम्मकी पछिल्लो समय संक्रमितहरु ठुलो संख्यामा भेटिएका र उपचार पछि निको भएका ठाँउमा आम मानिसमा भय र त्रास कम हुँदै गएको र त्यहाँको परिस्थिति सामान्य वन्दै गएको देखिन्छ ।

क्वारेन्टाइन वा आइसोलेसनका कारणले वस्तीमा सर्छ भनेर रोक्न खोज्ने कुरा अत्यन्त वेठिक र भ्रमपूर्ण कुरा हो । सबैभन्दा पहिले कोभिड १९ को उपचार गर्ने काठमाण्डौको सरुवा रोग उपचार अस्पताल रहेको टेकु र पाटन स्वास्थविज्ञान प्रतिष्ठान रहेको लगनखेलमा किन संक्रमण फैलिएन ।

किन विराटनगर र धरान भन्दा उदरपुर र झापामा वढि संक्रमण देखियो । किन कोरोना विशेष अस्पताल रहेको वुटवल र भैरहवामा भन्दा बढि कपिलवस्तुमा बढि देखियो । किन खजुरामा भन्दा वढि नरैनापुरमा वढि देखियो ? किन रोग पत्ता लागेपछि समुदायमा पुगेको कोरोना भाइरस उदयपुर, नेपालगंज र वीरगंजका वस्तीमा समेत नियन्त्रणमा आयो ।

कुरा स्पष्ट छ संक्रमण फैलिनुमा संक्रमित पहिचान नभएर नै हो । संक्रमितलाई पहिचान गरेर आइसोलेसनमा राख्ने हो भने संक्रमण फैलनवाट रोकिन्छ । रोकिदै आएको हाम्रो आफ्नै अनुभव पनि छ ।

यतिवेला क्वारेन्टाईन  भित्र संक्रमण बढि देखिनुको कारण बाहिरनै संक्रमित भएर आएका र क्वारेन्टाइनमा बस्नेहरुले एक आपसमा सामाजिक दुरी कायम नगरेका कारणले हो । क्वारेन्टाइनमा ठूलो संख्यामा संक्रमित देखिए पनि त्यो त्यति जोखिपूर्ण छैन । किनकी उनीहरुको ठूलो हिस्सा युवाहरुको छ र उनीहरु समाजमा मिसिएको अवस्था छैन ।

पहिचानगरी समयमा उपचारको प्रकृयामा लाने हो भने उनीहरुलाई सहजै निको बनाउन सक्ने देखिन्छ । तर, संक्रमितहरु पहिचान नभई समाजमा पुगेर दिर्घ रोगी र बृद्धबृद्धामा संक्रमण फैलियो भने स्थिति जटिल बन्छ । यस्तो कुरामा सबैको ध्यान जानु पर्दछ । सचेत पंक्तिले भन्नु पर्दछ क्वारेन्टाइन राखेका कारणले सम्पर्कमा नपुगेका मान्छेमा भाइरस सरेको छैन र सर्दैन ।

यतिवेला आफ्नो वस्ती र ठाउमा क्वारेन्टाइन राख्न नदिने नाममा अवान्छित क्रियाकलाप भइरहेका छन् । क्वारेन्टाइमा संक्रमित वढि देखिएका नाममा सिधै घर पठाउनु उपयुक्त हुने तर्क पनि सुनिन थालेका छन्। स्वास्थकर्मी र जनप्रतिनिधिको निगरानी रहेका क्वारेन्टाइमा समेत सामाजिक दुरी कायम गर्न समस्या देखिएको छ ।

तीनै व्यक्तिहरुलाई सिधै आफ्नो घर र वस्तीमा पठाउदा के होला ? सहज अनुमान गर्न सकिन्छ । निश्चित छ सिधै वस्तीमा पठाउँदा पहिचानमा नै समस्या हुन्छ । अनि आवश्यक सतर्कता कायम गर्न सकिदैन र संक्रमणको जोखिम बढ्न जान्छ । यस्ता विषयमा संचार माध्यमले विज्ञहरु मार्फत भ्रम चिर्न सहयोग गर्नु पर्दछ । अन्यथा हाम्रो समाजमा कोभिड १९संग जोडिएर सिर्जना भएको भय र त्रासले नै हामीलाई महामारीसंग जुध्न कठिन बनाइदिनेछ ।

यद्यपी यतिवेला जनसचेतना जगाउन खोज्न व्यक्ति वा समुहलाई पनि अस्विकार गर्ने वा उनीहरुलाई हतोत्साहित गर्ने प्रवृत्ति वढेको छ । सचेतनता फैलाउनु पर्नेहरु आफै भ्रमको शिकार भएको पनि देखिएको छ । क्वारेन्टाइन राख्न नदिनका लागि शिक्षकको नेतृत्वमा नै विद्यालय भवन भत्काउने काम भएका समाचार सम्प्रेषण भइरहेका छन् । जनप्रतिनिधिको नेतृत्वमा क्वारेन्टाइन वनाउन नदिन अवरोध सिर्जना गरिएका समाचारहरु आइरहेका छन् ।

अनि राजधानीकै विद्युतीय शवदाह गृहका सञ्चालकहरु तालावन्दी गरेर भागाभाग भएका समाचार आइरहेका छन् । अस्पतालमा विरामी राख्न डाक्टर समेत तयार नभएको कुरा आइरहेका छन् । यस्ता गलत कुराको खासै प्रतिवाद वा विरोध भएको देखिदैन । सम्वन्धित निकायले पनि यस्ता कुरालाई गम्भीर रुपमा लिएर स्पष्टिकरण सोधेको र सचेत बनाएको पनि सुनिएको छैन ।

समाजमा व्याप्त भ्रमका कारणले मृतकको दाहसंस्कारमा पनि समस्या उत्पन्न भएको छ । घाटमा लगरेर सव जलाउने कुरा समेत रोकिएको   छ । ठूलो संख्यामा मृत्यु हुँदाको अवस्थामा नियमित प्रकृयामा जान नसक्नु स्वभाविक हो । तर, एउटा दुईवटा मृतकको अन्तिम संस्कारमा परम्पारको पालना हुननसक्नु गम्भीर कमजोरी हो । यतिसम्मकी भयका कारणले परिवारका सदस्यहरु समेत नजिक नपर्ने स्थिति देखिएको   छ । जबी जीवित मान्छेवाट भन्दा मृत मान्छेबाट भाइरस सर्ने सम्भावना कम हुन्छ ।

किनकी जीवित मान्छे बोल्दा र हात्च्छेउ गर्दा भाइरस शरिरबाट बाहिर आउछ । तर मृतकको शरिर स्थिरभएको अवस्थामा त्यो सम्भावना   हुँदैन । तर यतिवेला भाइरसको डर जिउदा मान्छेसंग भन्दा बढि मरेको मान्छेसंग देखिन्छ । यो कुरामा पनि आवश्यक सचेतनता जगाउने काम हुन सकेको छैन ।

नेपालमा दुईजना व्यक्तिको हकमा दाहसंस्कार पछि मात्र संक्रमणको रिपोर्ट आएको थियो । ती व्यक्तिहरुको दाहसंस्कारमा सामेल भएका व्यक्तिमा संक्रमण देखिएको प्रमाण अझैसम्म पाइएको छैन । जीवित संक्रमितको सम्पर्कको तुलनामा मृतकलाई छुँदा मानिसले बढि सरसफाईमा ध्यान दिएका कारणले पनि संक्रमण नफैलिएको मान्न सकिन्छ ।

यस्ता कुरा पनि हाम्रा सन्दर्भमा विचार गर्नुपर्ने विषय हुन् । कोभिड १९ का महामारी नियन्त्रणको नेतृत्व गरिरहेको स्वास्थमन्त्रालय यस्ता विषयमा गंभीर र संवेनशील वन्न पर्दछ । हरेक घटनाको तथ्यपरक विश्लेषण गरी भय र त्रास अन्त्य गर्नु पर्दछ । संक्रमित क्षेत्रवाट आएका नागरिक,संक्रमित व्यक्ति र मृतकका सन्दर्भमा मानवीय व्यवहार प्रदर्शन हुन वातावरण सुनिश्चित गर्नु पर्दछ । मानवीय संस्कार र संस्कृतिको रक्षा संकटका बेलामा झनै जरुरी हुन्छ ।

                                                                                                                                                                -मुख्यमन्त्री पोख्रेलको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस !