१ असार २०८३, सोमबार

गोदावरीमा ६ दिने कृषि मेसिनरी मर्मत तालिम सम्पन्न, २२ कृषक सहभागी

प्रकाशित मिति :  15 June, 2026 3:44 pm


काठमाडाैँ । बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि तालिम केन्द्र, भण्डारा, चितवनको आयोजनामा तथा नेपाल कृषि मेसिनरी व्यवसायी संघको प्राविधिक सहयोगमा सञ्चालन गरिएको ६ दिने कृषकस्तर कृषि मेसिनरी मर्मत तथा सम्भार तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

पुष्प विकास केन्द्र, गोदावरीमा गत जेठ २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको उक्त तालिममा बागमती प्रदेशका ११ जिल्लाबाट २२ जना कृषकहरूको सहभागिता रहेको थियो। सहभागीमध्ये २१ जना पुरुष र १ जना महिला कृषक रहेको आयोजकले जनाएको छ।

तालिम अवधिभर सहभागीहरूलाई आवासीय सुविधा उपलब्ध गराइएको थियो। मुख्य रूपमा मिनी टिलर र पावर टिलरको मर्मत तथा सम्भारमा केन्द्रित उक्त तालिममा सैद्धान्तिक तथा प्रयोगात्मक दुवै विधिबाट प्रशिक्षण प्रदान गरिएको थियो।

नेपाल कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र तथा नेपाल कृषि मेसिनरी व्यवसायी संघका इन्जिनियर र दक्ष प्राविधिकहरूले प्रशिक्षण तथा मार्गदर्शन गरेका थिए।

आयोजकका अनुसार कृषि मेसिनरी मर्मतका लागि दक्ष प्राविधिकको अभाव पूर्ति गर्ने, उद्यमशीलता विकास गर्ने तथा कृषकहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो। तालिमपछि सहभागी कृषकहरूले कृषि मेसिनरी आफैं मर्मत गर्न सक्ने क्षमता विकास भई मर्मत खर्च तथा समय बचत हुने, साथै स्थानीय स्तरमै स्वरोजगारका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

तालिमको समापन कार्यक्रम पनि पुष्प विकास केन्द्र, गोदावरीमै सम्पन्न भएको थियो। समापन समारोहको अध्यक्षता कृषि तालिम केन्द्र, भण्डाराका निमित्त प्रमुख पवन सिंह भण्डारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्मा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरी तालिम समापन गरिएको थियो।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि कृष्ण शर्माले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि कृषि तालिम केन्द्रसँग समन्वय गरी यस्ता तथा अन्य कृषि मेसिनरी तथा प्रविधि–आधारित तालिमहरू सञ्चालन गर्न संघ सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, कृषि तालिम केन्द्रका निमित्त प्रमुख पवन सिंह भण्डारीले केन्द्रको इतिहासमै पहिलो पटक अनलाइन माध्यमबाट आवेदन खुला गरिएको जानकारी दिँदै करिब १०० जनाको आवेदनमध्ये २२ जनालाई छनोट गरिएको बताए । उनले पहिलो पटक महिला कृषकको सहभागिता हुनुले कृषि यान्त्रिकीकरणमा महिलाको सहभागिता बढ्दै गएको संकेत गर्ने उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !