विश्व क्यान्सर दिवस : ९५ प्रतिशत क्यान्सरको उपचार नेपालमै सम्भव

काठमाडाैँ । आज फेब्रुअरी ४, विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। चिकित्सकहरूका अनुसार प्रारम्भिक चरणमै क्यान्सर पत्ता लागेमा उपचार प्रभावकारी हुन्छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार नियमित स्वास्थ्य परीक्षणले क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले शून्यदेखि तेस्रो चरणसम्मको क्यान्सर निको पार्न सकिने र चौथो चरणमा नियन्त्रण गर्न सकिने बताए।
नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार सम्भव रहेको भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसे बताए । सरकारी अस्पतालमा उपचार सस्तो हुँदा बिरामीलाई राहत मिल्नेछ।
‘ग्लोबोक्यान’ सर्वेक्षणअनुसार नेपालमा वार्षिक २० हजारभन्दा बढी क्यान्सरका बिरामी थपिने गरेका छन्। पुरुषहरूमा फोक्सो, पेट, आन्द्रा, मुख, र थाइराइडको क्यान्सर बढी देखिन्छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन्।
सरकारले विपन्न नागरिकलाई लक्षित गरी क्यान्सर उपचारका लागि एक लाख रुपैयाँसम्मको सहायता तथा निःशुल्क औषधिको व्यवस्था गरेको छ।