२७ माघ २०८१, आइतबार

राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाहरुको नियमन गर्न जरुरी-सञ्चारमन्त्री गुरुङ

प्रकाशित मिति :  5 February, 2025 4:39 pm


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाहरुको नियमन गर्न जरुरी रहेको बताएका छन् ।

बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । नेपाली अनलाइन क्षेत्र छाडा र अराजकता उन्मुख रहेको उनको भनाइ छ । उनले प्रेस स्वतन्त्रताको नाममा जे मन लाग्यो त्यही लेख्ने प्रवृत्तिको विकास भएको भन्दै यसको नियमन गर्न जरुरी रहेको बताए ।

उनले सांस्कृतिक सहअस्तित्व र धार्मिक सहिष्णुताको हिसावले नेपाल विश्वमै नमूना भएपनि पछिल्लो समय सामाजिक सद्भाव भड्काउने क्रियाकलाप भइरहेको बताए । अनलाइन मिडियाले सामाजिक सद्भाव, आपसी एकता र धार्मिक सहिष्णुता प्रवद्र्धन गर्ने कार्यमा सहयोग नगरेको जिकिर गरे ।

उनले हेट स्पिचको माध्यमबाट व्यक्ति विषेश र समाजकै बद्नाम गरेर लोकतन्त्र बलियो नहुने उल्लेख गर्दै उनले अनलाइन क्षेत्रलाई नियमन गर्न सरकार लागिपरेको समेत बताए ।

‘‘यो अनलाइन क्षेत्र निकै छाडा छ । यो त सबैले महशुस गर्ने विषय होइन ? अराजकतालाई प्रश्चय दिएर लोकतन्त्र बलियो हुन्छ ? प्रेस स्वतन्त्रताको अर्थ जे मन लाग्यो त्यही भन्न पाउने र जे मन लाग्यो त्यही लेख्ने पाउने हो र ? त्यो त होइन होला नि त । सबैले नियमभित्र बस्ने तर अनलाइनले आचारसंहितामा नबस्ने भन्ने छ र दुनियामा ?‘‘, मन्त्री गुरुङले भने । उनले नेपालको सांस्कृतिक र धार्मिक पहिचानको संरक्षणका लागि सबै एकजुट भएर अघि बढ्न जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !