१९ मंसिर २०८२, शुक्रबार

स्वस्थ खानपानको अभाव र प्रदुषणका कारण मिर्गौला रोगीहरूको संख्या बढ्योः अर्थमन्त्री पौडेल

प्रकाशित मिति :  7 February, 2025 11:37 am


काठमाडाैँ । नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गरेको छ । शुक्रवार एक कार्यक्रमबीच अस्पतालले डायलासिस सेवाको शुभारम्भ गरेको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक कार्यक्रमबीच डायलासिस सेवाको शुभारम्भ गरे ।

डायलासिस सेवाको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पौडेलले स्वस्थ खानपानको अभाव र प्रदुषण लगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरुको संख्या बढिरहेको बताए । उनले मिर्गौला रोगीहरुको संख्या बढ्नुले स्वास्थ्य व्यवस्थापनमा चुनौति थपिएको बताए । उनले मिर्गौला रोगीहरू बढिरहेको अवस्थामा यस अवस्थालाई मध्यनजर गरेर नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गर्नु सुखद् रहेको बताए । उनले सरकारले गरिरहेका प्रयासहरुमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल सकारात्मक भएको बताए ।

“अहिले हाम्रोमा स्वस्थ खानपानको अभाव, प्रदुषण लगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरुको संख्या प्रतिदिन बढिरहेको छ । हाम्रो स्वास्थ्य व्यवस्थापनका सामुन्नेमा एउटा नयाँ चुनौतिको रुपमा उपस्थित भएको छ । यस्तो अवस्थामा मिर्गौला रोगीहरुको उपचारलाई केन्द्र भागमा राखेर सेवा बिस्तार गर्नुपर्ने आजको आवश्यकता छ । सरकारले गरिरहेका प्रयासहरुमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल भएको छ,”उनले भने ।

कार्यक्रममा बोल्दै नेपाल नेशनल अस्पतालका आइसियु विज्ञ तथा निर्देशक डा. प्रकाश पौड्यालले नेपालमा अहिले मिर्गौला रोगीको अवस्था भयावह रहेको बताए । उनले हरेक १६ जना वयस्क व्यक्तिमध्ये एक जना मिर्गौलाको बिरामी रहेको तथ्यांक रहेको बताए ।

उनले यही अवस्थालाई मध्यनजर गरेर अस्पतालले कलंकी क्षेत्रमा मिर्गौला रोगीका लागि डायलासिस सेवाको शुभारम्भ गरेको जानकारी दिए । एक पटक मिर्गौला रोगी भएर डायलसिस सेवामा जानुपरेपछि बिरामीलाई धेरै गाह्रो हुने र औषधिको खर्च पनि धेरै हुने बताए उनले सर्वसुलभ र राम्रो सेवा दिने उद्देश्यले नेपाल नेशनल अस्पताल स्थापना गरिएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !