१९ मंसिर २०८२, शुक्रबार

महिला स्वास्थ्य सुरक्षाका लागि सांसद इश्वरी घर्ती मगरको सरकारलाई आग्रह

प्रकाशित मिति :  11 February, 2025 4:06 pm


काठमाडौँ । सांसद इश्वरी घर्ती मगरले महिलाहरूको स्वास्थ्य सुरक्षाका लागि सरकारसँग माग गरेकी छिन् । मङ्गलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बाेल्दै सांसद इश्वरी घर्ती मगरले पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको रोकथाम र निशुल्क स्क्रिनिङ परीक्षण सुनिश्चित गर्न सरकारसँग आग्रह गरेकी हुन् ।

सांसद घर्ती मगरले ९ देखि १४ वर्षका किशोरीहरूलाई सरकारले प्रदान गरिरहेको एचपिभि खोप कार्यक्रमका लागि सरकार र स्वास्थ्य मन्त्रीलाई धन्यवाद ज्ञापन गर्दै महिलाहरूको स्वास्थ्य सुरक्षाका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता रहेको बताइन्।

उनले विशेषगरी ग्रामीण भेगका महिलाहरूलाई लक्षित गरी भिआईए स्क्रिनिङ टेस्ट तथा स्तन क्यान्सरको म्यामोग्राफी स्क्रिनिङ टेस्टलाई निशुल्क रूपमा उपलब्ध गराउने व्यवस्था गर्न माग गरिन् ।

यसका लागि दक्ष जनशक्ति तथा अत्याधुनिक प्रविधियुक्त उपकरणको व्यवस्था आवश्यक रहेको बताउँदै उनले यी परीक्षणहरूलाई सबै प्रदेशबाट सहज रूपमा उपलब्ध गराउने नीति ल्याउन सरकारलाई आग्रह गरिन् ।

विश्व स्वास्थ्य संगठनकाे रिपोर्टअनुसार नेपालमा पाठेघरकाे मुखकाे क्यान्सर १९.४ प्रतिशत महिलामा देखिने बताउँदै उनले ६ प्रतिशत महिलाले मात्रै जाँच गराउने गरेकाे बताइन् ।

उनका अनुसार स्तन क्यान्सर १७.१ प्रतिशत महिलालाई हुने भए पनि ४ प्रतिशतले मात्र जाँच गराउने गरेको तथ्यांक सार्वजनिक छ। सांसद घर्ती मगरले क्यान्सरको उपचारभन्दा रोकथाममा ध्यान दिनुपर्ने भन्दै पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

साथै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै महिलाहरूलाई नियमित स्वास्थ्य परीक्षणमा प्रोत्साहित गर्नुपर्ने उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !