१९ मंसिर २०८२, शुक्रबार

एमाले महासचिव पोखरेलले भने-सामाजिक सञ्जाल मर्यादित भए अपराध नियन्त्रण सम्भव

प्रकाशित मिति :  12 February, 2025 5:11 pm


दाङ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सामाजिक सञ्जालमा सत्य र तथ्यका आधारमा लेख्न आग्रह गर्दै यसलाई मर्यादित बनाए अपराध न्यूनीकरण गर्न सकिने बताएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले सत्यतथ्यका पक्षमा कलम चलाउनु नै समाजलाई सकारात्मक दिशामा लैजाने मार्ग हो भन्ने धारणा राखे ।

महासचिव पोखरेलले भने, “सामाजिक सञ्जाललाई मर्यादित बनाउन सकियो भने धेरै अपराधहरू नियन्त्रण गर्न सकिन्छ ।” उनका अनुसार धेरैजसो व्यक्तिहरू सामाजिक सञ्जालमा प्रश्न उठाउने गर्छन्, तर सत्य र तथ्य लेख्ने कार्यमा पछि पर्छन् । यदि प्रत्येक व्यक्ति आफैं अघि सर्दै सत्यता प्रस्तुत गर्न तयार भए, समाजमा सकारात्मक परिवर्तन आउन सक्छ ।

उनले सामाजिक सञ्जाललाई राजमार्गसँग तुलना गर्दै भने, “सामाजिक सञ्जाल सूचना प्रवाहका लागि पुलको रूपमा काम गर्छ । सत्यतथ्यमा आधारित विचारहरू प्रस्तुत गर्न सकियो भने यसले समाजलाई सही दिशामा लैजान सहयोग गर्छ ।”

उनको भनाइमा, जस्तै सडकमा यात्रा गर्ने मानिसहरू मात्रै देखिन्छन्, त्यस्तै सामाजिक सञ्जालमा पनि जो सक्रिय हुन्छ, उनै बढी देखिन्छन्।

“घरभित्र बसेका असल मानिसहरू सडकमा नदेखिए जस्तै, सामाजिक सञ्जालमा असल मानिसहरू सक्रिय नहुँदासम्म खराब तत्वहरू मात्र हाबी हुने सम्भावना रहन्छ,” उनले स्पष्ट पारे ।

महासचिव पोखरेलले सामाजिक सञ्जाललाई मर्यादित बनाउन र सकारात्मक बहस अघि बढाउन सबैलाई प्रेरित गर्दै भने, “जब असल मानिसहरू सक्रिय हुन्छन्, तब अराजकता, अशिष्टता, र साइबर अपराध क्रमशः घट्दै जान्छ ।”



प्रतिक्रिया दिनुहोस !