२४ बैशाख २०८१, सोमबार

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई १ लाख रुपैयाँ दिने प्रदेश-५ सरकारको निर्णय, २ वटा एम्बुलेन्स किन्ने

प्रकाशित मिति :  2 June, 2020 9:07 pm


रुपन्देही, २० जेठ ।

प्रदेश-५ सरकारले कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवारलाई १ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश भित्रका कसैको कोरोना संक्रमणका कारण मृत्यु भएमा परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।   प्रदेश ५ मा अहिलेसम्म बाँकेमा एक जना र गुल्मीमा एकजनाको निधन भएको छ ।

प्रदेश सरकारले शव बाहन एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ । प्रदेशका २ जिल्ला रुपन्देही र बाँकेमा कोरोना संक्रमिति भई मृत्यु भएकाको दाह संस्कारमा समस्या परेपछि शव वाहन खरिद गर्ने निर्णय गरेको हो ।

बैठकले बाँके स्थित सुशील कोईराला प्रखर क्यान्सर अस्पताल र दाङको तुलसीपुर स्थित राष्ट्रिय आयुर्वेदिक केन्द्रमा सञ्चालित कोरोना अस्पतालमा प्रयोग हुने गरि शव बाहन खरिद गर्ने निर्णय गरेको प्रदेश ५ सरकारका प्रवक्ता भौतिक पुर्वाधार तथा यातायात मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

शव बाहन खरिदका लागि १५, १५ लाख छुट्याईएको उनको भनाई छ । शव बहानको रेखदेख र नियमित सञ्चालन बाँकेमा नेपालगन्ज उपमहानगरपालिका र दाङमा तुलसीपुर उपमहानगर पालिकाले गर्ने गरि ब्यवस्था मिलाईएको प्रवक्ता चौधरीले जानकारी दिए ।

प्रदेश ५ मा छिमेकी मुलुकबाट फर्केका नेपाली तथा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको गतिबिधिलाई संप्रेषण गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको मन्त्री चौधरीले वताए ।



प्रतिक्रिया दिनुहोस !