अध्यक्ष दाहाल भनेः ०८४ सम्म प्रधानमन्त्री बन्दिन

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन् ।
शुक्रवार वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताएका हुन् ।
उनले अहिलेको सरकार भ्रष्टाचारीहरूलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काम गरिरहेको बताए । उनले भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहेको आरोप लगाए ।
उनले २०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहेको जिकिर गरे । उनले आफू २०८४ सम्म जनताकै साथमा रहने बताए।सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्नेकुरा माओवादीमा लागू नहुने बताए । सरकारमा हुँदा भ्रष्टाचारबिरुद्धको आन्दोलन छेडेको बताए । आर्थिक विकासको निम्ति गति दिने कुरामा आफूहरुले सरकारमा हुँदा जोड दिएको बताए ।