१७ बैशाख २०८२, बुधबार

प्रमुख तीन दलका शीर्ष नेताहरूबीच आज महत्वपूर्ण छलफल

प्रकाशित मिति :  24 March, 2025 8:39 am


काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच आज अपराह्न ४ बजे संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल हुन लागेको छ ।

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकमा सहभागी हुँदैछन् ।

छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन लगायतका विषय प्राथमिकतामा रहनेछन् ।

यसअघि पनि तीन दलबीच छलफलको प्रयास गरिएको थियो तर माओवादी केन्द्रले ‘तराई–मधेस जागरण अभियान’ सञ्चालन गरिरहेको कारण बैठक बस्न सकेको थिएन। माओवादी केन्द्रको अभियान सकिएसँगै अब छलफललाई अघि बढाउन लागिएको हो ।

संक्रमणकालीन न्यायसम्बन्धी कानुन त बनेको छ, तर आवश्यक आयोगहरू गठन हुन सकेका छैनन् । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी नियुक्ति प्रक्रियामा ढिलाइ भइरहेको छ ।

यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सर्च कमिटीले आवश्यक प्रक्रिया पूरा गरे पनि पदाधिकारी नियुक्ति हुन सकेको थिएन।

प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकारका रूपमा अग्नि खरेललाई नियुक्त गरेपछि यस विषयमा तीन दलबीच छलफल तीव्र बनेको हो । आजको बैठकले अड्किएका विषयहरू टुंग्याउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !