६ बैशाख २०८२, शनिबार

संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि अर्को सर्च कमिटी बनाउने शिर्ष तीन दलबिच सहमति

प्रकाशित मिति :  24 March, 2025 6:23 pm


काठमाडाैँ । तीन दलका शिर्ष नेताहरूको बैठकमा सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि अर्को सर्च कमिटी बनाउने सहमति भएको छ ।

सोमवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको शिर्ष नेताहरुको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सर्च कमिटी बनाउने सहमति जुटेको एमाले स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले बताए ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सांसद एवं गृहमन्त्री रमेश लेखक सहभागी थियाे । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यहरूको नियुक्तिको लागि सर्च कमिटि गठन प्रक्रिया अगाडि बढाउने विषयमा परामर्श भएको बताए । 

बैठकमा प्रमुख तीन दलका शिर्ष नेतासँगै कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखक एमालेबाट प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल र नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव शक्ति बस्नेत र खिमलाल देवकोटा सहभागी थियाे ।



प्रतिक्रिया दिनुहोस !