शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने खालको कानून बनाउन आवश्यक छः मन्त्री भट्टराई
प्रकाशित मिति : 25 March, 2025 5:08 pm

काठमाडाैँ । शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने खालको कानून बनाउन आवश्यक रहेको बताएकी छन् ।
मंगलवार शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले सरकार शिक्षा क्षेत्रको विस्तारमा ध्यान दिँदा त्यसको गुणस्तरका लागि केही गर्न नसकिएको बताएकी हुन्। राज्य र विश्वविद्यालयबीचको सम्बन्ध के हो भनेर परिभाषित हुने खालको ऐन आजसम्म बनाउन नसकिएको उनको भनाइ छ ।
उनले विश्वविद्यालयहरूलाई खुला रूपमा काम गर्ने वातावरण बनाउन जरुरी रहेको समेत बताइन् । उनले जे गर्दा पनि अर्थ मन्त्रालयसँग अनुमति लिनुपर्ने समस्याको कारण वैज्ञानिकहरू समस्यामा परेको बताइन् ।
युवाहरूलाई नेपालमै बस्ने वातावरण निर्माण गर्ने खालको गुणस्तरीय शिक्षा प्रदान गर्ने खालको ऐन बनाउनुपर्नेमा उनकाे जाेड छ ।