२६ असार २०८२, बिहिबार

रास्वपाको सरकारविरुद्ध शान्तिपूर्ण आन्दोलनको घोषणा

प्रकाशित मिति :  25 March, 2025 6:06 pm


काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर आपत्ति जनाउँदै सरकारको आलोचना गरेको छ। पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा लोडसेडिङ अन्त्य गरेर नेपाली जनतालाई अँध्यारोबाट मुक्त गर्ने घिसिङलाई सरकारले बदनियतपूर्वक हटाएको आरोप लगाइएको छ।

रास्वपाले घिसिङको बर्खास्तीलाई सरकारका तर्फबाट बिचौलियालाई संरक्षण गर्ने, विद्युत प्राधिकरणको वित्तीय सुदृढीकरणलाई रोक्ने र बक्यौता उठाउन नदिने षड्यन्त्रको हिस्सा भएको दाबी गरेको छ। संविधानले मान्यता नदिएको दुई दलीय संयन्त्रको सहमतिमा गरिएको यो निर्णय जनविरोधी भएको भन्दै पार्टीले आम नागरिक र युवाहरूलाई निरुत्साहित गर्ने कार्य भएको जनाएको छ।

विज्ञप्तिमा प्रमुख दलहरूको संलग्नतामा भ्रष्टाचार, कुशासन, बेरोजगारी, शिक्षा, स्वास्थ्यजस्ता सार्वजनिक सेवामा चरम बेथिति व्याप्त रहेको र वर्तमान सरकार प्रतिशोधपूर्ण, अनुत्तरदायी र असफल भएको उल्लेख गरिएको छ।

रास्वपाले भ्रष्टाचारमा संलग्नलाई जोगाउने र बिचौलियालाई पोस्ने सरकारको विरोधमा शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ। पार्टीले सरकारविरुद्ध हुने विरोध कार्यक्रमहरूमा नेतृत्वदायी भूमिका खेल्ने र ऐक्यबद्धता जनाउने स्पष्ट पारेको छ।



प्रतिक्रिया दिनुहोस !