२२ मंसिर २०८२, सोमबार

ब्रिटिस गोर्खा लगायत विदेशीएका नेपालीलाई नागरिकता दिने वातावरण बनाइनेछः सभापति खतिवडा

प्रकाशित मिति :  3 May, 2025 7:11 pm


काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ब्रिटिस गोर्खा लगायत विदेशमा रहेका नेपाली नागरिकलाई पुनः नेपाल फर्कने वातावरण बनाउने गरी नागरिकता विधेयक अघि बढाइने बताएका छन्।

शनिबार ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान बेलायत नेपालले राजधानीमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता सम्बन्धी अन्तरक्रिया कार्यक्रम’मा बोल्दै खतिवडाले नागरिकता विधेयक राज्य व्यवस्था समितिमा आएको जानकारी दिए।

उनले भने, “कानुन बनाउँदा राजनीतिक गन्ध नआओस् भनेर हामी लागेका छौं। आमासँग जोडिएर नागरिकता दिने माग आएको छ। जस्तो प्रकारको संशोधन गरेर ल्याए पनि मान्य हुन्छ भन्ने गृहमन्त्रालयको धारणा छ।”

सभापति खतिवडाले नागरिकता ऐन सबैका लागि समान रूपमा लागू हुने खालको हुनुपर्नेमा जोड दिए। “हामी कानुन सबैका लागि बनाउने हो,” उनले भने, “विदेशीएका नेपालीलाई नेपाल सम्भव छ भन्ने अनुभूति दिलाउन नागरिकता ऐन ल्याइनुपर्छ।”

उनले गोर्खा सैनिकका रूपमा ब्रिटिस सेनामा भर्ती भएका नेपाली तथा अन्य कारणले विदेश बसेका तर आफ्नो नेपाली पहिचान कायम राख्न चाहनेहरूलाई लक्षित गरेर नागरिकता कानुन बनाउनुपर्ने आवश्यकता औंल्याए।

“हाम्रो लागि यो नागरिकता विधेयक अत्यन्तै महत्त्वपूर्ण विषय हो,” उनले थपे, “आमाको नामबाट नागरिकता दिने कुरालाई लिएर पनि हाम्रो स्पष्ट चाहना छ। त्यसअनुसार नागरिकता पाउनुपर्छ भन्ने माग आएको छ र हामीले यो विषय समितिमा ल्याएर छलफल गर्नेछौं।” उनले कुनै पनि नेपाली नागरिक देशविहीन हुन नहुने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस !