रोजगारी र महंगी नियन्त्रणलाई प्राथमिकतामा राखेर बजेट बनाउन माग
दाङ । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठकमा प्रदेश सभा सदस्य हेमा बेलबासे केसीले प्रदेश सरकारले रोजगारी सिर्जना र महंगी नियन्त्रणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तथा बजेट निर्माण गर्नुपर्नेमा जोड दिएकी छन् ।
सदस्य केसीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने समस्या र मागलाई सम्बोधन गर्दै बजेट निर्माण गर्न सरकारलाई आग्रह गरिन् । सरकारले जनतासँग साक्षात्कार गरी उनीहरूको आवश्यकता र मागअनुसार बजेट बनाइनुपर्ने उनले बताइन् ।
उनले चालु आर्थिक वर्षमा महिला, बालबालिका तथा जेष्ठ नागरिकका लागि बिनियोजन गरिएको बजेट रोकिनु दुःखद् भएको भन्दै सामाजिक सुरक्षासम्बन्धी कार्यक्रम र बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने माग गरिन् ।
सदस्य केसीले प्रदेश सरकारले धेरै योजना बनाएर त्यसलाई कार्यान्वयन गर्न नसक्नुको सट्टा थोरै तर प्रभावकारी योजना बनाई कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिइन् । उनले सरकारलाई जनताको जीवनस्तर उकास्नका लागि बजेट जनमुखी र परिणाममुखी बनाउने आग्रह गरिन्।








