नीति तथा कार्यक्रममा प्रजनन् स्वास्थ्यलाई समेट्न माग
दाङ । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठकमा प्रदेश सभा सदस्य मीनाकुमारी बोहोराले प्रदेश सरकारले जनतामुखी नीति तथा कार्यक्रम ल्याउनुपर्ने माग गरेकी छन् । उनले विगतमा ठेकेदारमुखी बजेटको प्रवृत्ति रहेको भन्दै यस्ता प्रवृत्ति तत्काल रोक्नुपर्नेमा जोड दिइन् ।
सदस्य बोहोराले टुक्रे बजेट र योजनालाई रोक्दै उपभोक्ता समितिमार्फत बजेट परिचालन गर्ने व्यवस्था ल्याउनुपर्ने बताइन् । उनले जनताको आवश्यकता, माग र जीवनस्तरसँग जोडिएका क्षेत्रमा बजेट केन्द्रित गर्न आग्रह गरिन् ।
बोहोराले लुम्बिनी प्रदेशमा महिलाहरूमा प्रजनन् स्वास्थ्य समस्या गम्भीर बन्दै गएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न विशेष बजेट र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् ।
त्यस्तै, उनले विपन्न वर्गका लागि छुट्टै बजेट निर्माण गर्नुपर्ने माग गर्दै सामाजिक सुरक्षा र समावेशी विकासलाई बजेटमा प्राथमिकता दिन प्रदेश सरकारलाई आग्रह गरिन् ।








