१९ मंसिर २०८२, शुक्रबार
लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठक

लुम्बिनी प्रदेश सभामा शिक्षा, खानेपानी र किसानको समस्यातर्फ सरकारको ध्यानाकर्षण

प्रकाशित मिति :  15 May, 2025 3:19 pm


दाङ । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठकमा प्रदेश सभा सदस्य भगवति अधिकारीले रुपन्देही लगायतका क्षेत्रमा बढ्दो खानेपानी समस्या र शिक्षा क्षेत्रको गुणस्तर खस्किँदै गएकोप्रति गम्भीर ध्यानाकर्षण गराएकी छन्।

सदस्य अधिकारीले रुपन्देही जिल्लामा खानेपानी समस्या विकराल बन्दै गइरहेको र सरकारी योजना कागजमै सीमित भइरहेकाले अब व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्ने बताइन्। उनले शिक्षा क्षेत्रमा दरबन्दी अनुसार शिक्षकको अभावले प्रदेशमा शिक्षाको गुणस्तर खस्किरहेको उल्लेख गर्दै शिक्षालाई प्राथमिकतामा राखेर समस्या समाधान गर्न सरकारलाई आग्रह गरिन्।

उनले सरकारको नीति तथा कार्यक्रम प्रचारमुखी नभई कार्यान्वयनमुखी बनाउनुपर्नेमा जोड दिँदै जनताको भावना अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने धारणा राखिन्। साथै, सुशासन र पारदर्शितातर्फ सरकारको ध्यान जानुपर्ने माग पनि अधिकारीले राखिन्।

विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि लुम्बिनी आसपासका विद्यालयहरूमा समेत बस्न बेञ्चको अभाव रहेको भन्दै अधिकारीले विद्यार्थीहरूको पढाइ अलपत्र भएको बताइन्। उनले विद्यालयहरूमा आवश्यक पूर्वाधार विकासमा सरकार गम्भीर हुनुपर्ने बताइन्।

सदस्य अधिकारीले किसानलाई समयमै मल उपलब्ध गराउने र सीमावर्ती क्षेत्रमा भइरहेका समस्या समाधान गर्न सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा पनि जोड दिइन्।



प्रतिक्रिया दिनुहोस !