समृद्ध र आत्मनिर्भर लुम्बिनीका लागि नीति तथा कार्यक्रम ल्याउन भुवनेश्वर चौधरीको आग्रह
दाङ । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठकमा प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशको मर्म अनुसारको नीति तथा कार्यक्रम ल्याउन प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
सदस्य चौधरीले नीति तथा कानुन निर्माण गर्दा सत्तापक्ष र प्रतिपक्ष दुवैको आवाजलाई सुनुवाइ गरेर साझा सहमतिमा अघि बढ्नुपर्नेमा जोड दिँदै आवश्यक कानुन निर्माणमा ढिलाइ नगर्न आग्रह गरे । उनले बजेटमा प्राथमिकताको सिद्धान्त आत्मसात् गर्नुपर्ने र स्रोतको पहिचान गरी करको दायरा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।
चौधरीले लुम्बिनी प्रदेशमा जल, जमिन र जंगलजस्ता अमूल्य सम्पत्तीको समुचित पहिचान र सदुपयोग गर्न प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । उनले सीमित साधन स्रोतलाई माग र आवश्यकताको आधारमा न्यायोचित ढंगले बाँडफाँड गरी बजेट बनाउनुपर्ने सुझाव दिए ।
कृषकलाई समयमै मल र सिंचाइ सुविधा सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै चौधरीले मानवीय विकास र साना तथा मझौला उद्योग स्थापना गर्न सरकारको ध्यान जानुपर्ने बताए । उनले पर्यटन प्रवर्द्धनका लागि वातावरण निर्माण गर्नुपर्ने धारणा राखे ।
सदस्य चौधरीले बाघ संरक्षणमा सरकार गम्भीर नभएको टिप्पणी गर्दै निकुञ्ज क्षेत्रलाई तारबार गरी बस्ती र वन्यजन्तुबीच द्वन्द्व न्यूनीकरण गर्नुपर्ने नीति ल्याउन प्रदेश सरकारलाई आग्रह गरे । उनले केवल बाघ पालेर मात्र नहुने, त्यसको संरक्षणका लागि स्पष्ट नीति आवश्यक रहेको बताए ।








