गौतमबुद्ध हाइड्रोपावर प्रकरणमा प्रदेशसभा सदस्य पन्थीको आपत्ति
दाङ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको चौथो बैठकमा बोल्दै प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थीले गौतमबुद्ध हाइड्रोपावर प्रकरणमा आफूलाई अन्यायपूर्वक संलग्न गराइएको भन्दै कडा आपत्ति जनाएका छन् ।
पन्थीले उल्लेख गरेअनुसार, उनी ४६ जना शेयर सदस्यमध्ये एक थिए, तर २०७५ साल असार १० गते नै आफ्नो शेयर बिक्री गरेर कम्पनीबाट पूर्ण रूपमा मुक्त भइसकेका हुन् ।
आफू कम्पनीबाट विदा भएकाे करिब १० महिनापछि कम्पनीविरुद्ध अदालतमा मुद्दा दर्ता भएकाे भन्दै उनले आफ्नाे स्वामीत्व नभएकाे कम्पणीकाे विषयलाई लिएर अदालती निर्णयकाे कारबाहीमा आफ्नाे नाम जाेडिनु दुखद् भएकाे बताए ।
उहाँले भने, “शेयर सदस्य नै नभएको अवस्थामा मलाई पक्राउ पुर्जी जारी गर्नु र सञ्चारमाध्यममा समाचार प्रकाशित गर्नु मेरो चरित्र हत्या गर्ने नियोजित प्रयास हो । सञ्चालकहरूको नाममा कुनै कानुनी प्रक्रिया नगरी केवल ममाथि कारबाही प्रक्रिया अगाडि बढाइनु अन्यायपूर्ण छ ।”
पन्थीले गौतमबुद्ध हाइड्रोपावरले विराटनगरस्थित हाइल्याण्ड कम्पनीलाई बिक्री भएको र त्यस क्रममा पल्लवीबाट ल्याइएको ट्रान्सफर्मरकाे भुक्तानीमा समस्या आएको र उक्त विषय अदालतसम्म पुगेकाे प्रसंग पनि उल्लेख गरे।
“यो सबै समस्या र निर्णय सञ्चालकहरूको तहमा भइरहेका छन्,” पन्थीले भने, “तर जिम्मेवारीबाट मुक्त भइसकेको व्यक्तिलाई मुद्दामा तान्नु लोकतान्त्रिक प्रक्रियाको अपमान हो ।”
उनले अदालत, सञ्चारमाध्यम र सरोकारवाला निकायसँग तथ्य र प्रमाणको आधारमा निष्पक्ष अनुसन्धान र कारबाहीको माग गर्दै, आफ्नो चरित्र हत्या गर्ने प्रयास बन्द गर्न आग्रह गरेका छन् ।
प्रदेशसभा बैठकमा पन्थीले आफ्नो व्यक्तिगत विषय उठाउनुका साथै यस्ता घटनाले आम नागरिकमा न्याय प्रणालीप्रति विश्वास कमजोर पार्ने खतरा रहेको चेतावनी पनि दिएका थिए ।








