१९ मंसिर २०८२, शुक्रबार
लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको चौथो बैठक

बजेट खुम्चिए पनि नीति–कार्यक्रम खुम्चिनु हुँदैन- प्रदेशसभा सदस्य विश्वप्रेम पाठक

प्रकाशित मिति :  18 May, 2025 2:57 pm


दाङ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको चौथो बैठकमा प्रदेशसभा सदस्य विश्वप्रेम पाठकले बजेटको आकार घट्ने चर्चा भइरहे पनि नीति तथा कार्यक्रमको दायरा घट्न नहुनेमा जोड दिएका छन् ।

उनले क्षेत्रीय विकासका नाममा विनियोजन गरिएका योजनाहरू कार्यान्वयन नहुँदा प्रदेशसभा सदस्यहरूको मानमर्दन भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् । पाठकले सरकारको ध्यान योजनाको प्रभावकारी कार्यान्वयनतर्फ जानुपर्ने आवश्यकता औँल्याए ।

“बजेटको आकार खुम्चिने चर्चा भइरहे पनि प्रदेशको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएका नीति तथा कार्यक्रमको प्रभावकारिता घट्नु हुँदैन,” पाठकले भने, “नीति निरन्तर चल्ने प्रक्रिया हो, त्यसैले यसको गहिरो अध्ययन र दीर्घकालीन प्रभाव सोचेर नै योजना निर्माण गर्नुपर्छ ।”

पाठकले जलवायु परिवर्तनको असर प्रदेशभरि देखिन थालेको उल्लेख गर्दै यसलाई प्राथमिकताको रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । उनले नीति तथा कार्यक्रममा जलवायु संकटसँग जुझ्ने उपायहरू स्पष्ट रूपमा समावेश गरिनु पर्ने आवश्यकता औँल्याउँदै प्रदेश सरकारको ध्यान सो विषयतर्फ केन्द्रित गराउन आग्रह गरे ।

प्रदेशको समुन्नत विकासका लागि नीति, योजना र बजेटबीच समन्वय जरुरी रहेको उल्लेख गर्दै पाठकले नीति खुम्चिदै जाँदा विकासको सपना अधुरो रहने चेतावनी पनि दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !