कृषि, यौनस्वास्थ्य, महिला अधिकार र युवाका मागमा जानकी न्यौपानेको जोड
दाङ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको चौथो बैठकमा बोल्दै प्रदेशसभा सदस्य जानकी न्यौपानेले कृषि, यौनस्वास्थ्य, महिला अधिकार र युवासम्बन्धी विषयहरूमा सरकारको ध्यानाकर्षण गराउँदै समावेशी तथा व्यवहारिक नीति आवश्यक भएको धारणा राखेकी छन् ।
न्यौपानेले नेपाल कृषि प्रधान देश भएकाले मल, विउ र सिँचाइको भरपर्दो व्यवस्था गर्न सरकारलाई आग्रह गरिन् । कृषिमा आत्मनिर्भरता र उत्पादन वृद्धि गर्नका लागि आधारभूत स्रोतसाधनको सुनिश्चितता आवश्यक भएको उनको भनाइ थियो ।
यौनशिक्षा र प्रजनन स्वास्थ्य सुधारका लागि बजेटीय व्यवस्था गर्नुपर्ने माग गर्दै उनले ग्रामीण क्षेत्रका किशोरी र महिलाहरूलाई लक्षित गर्दै प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् । “यो विषय सामाजिक विकासको मेरुदण्ड हो, यसलाई उपेक्षा गर्नु हुँदैन,” उनले भनिन् ।
त्यस्तै युवाहरूको स्वरोजगार र आत्मनिर्भरता बढाउनका लागि व्याज अनुदान कार्यक्रम ल्याउनुपर्ने प्रस्ताव गर्दै उनले बेरोजगारी घटाउन उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव दिइन् ।
महिला अधिकारको सन्दर्भ उठाउँदै उनले आमाको नामबाट नागरिकता दिन सकिने कानुनको व्यवहारिक कार्यान्वयन हुन नसकेकोमा गम्भीर ध्यानाकर्षण गराउँदै यसको शीघ्र कार्यान्वयन गर्न सरकारसँग माग गरिन् ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको महिला परिषद् गठनको कार्य अहिलेसम्म अघि नबढेको भन्दै तत्काल गठन प्रक्रिया सम्पन्न गर्नुपर्ने माग गर्दै उनले महिला सशक्तीकरणका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्न सुझाव दिइन् ।
अन्त्यमा उनले बजेट विनियोजनको सन्दर्भमा प्रत्यक्ष र समानुपातिक निर्वाचित प्रदेशसभा सदस्यहरूबीच कुनै प्रकारको भेदभाव नगर्न आग्रह गरिन् । उनले समावेशी र समान व्यवहारले मात्र लोकतान्त्रिक अभ्यास सुदृढ हुने धारणा व्यक्त गरिन् ।








