१९ मंसिर २०८२, शुक्रबार
लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको चौथो बैठक

“स्मार्ट प्रदेश” काे व्यवहारिक कार्यान्वयन गर्न प्रयाप्त बजेट बिनियाेजन गरियाेस्-सांसद श्रेष्ठ

प्रकाशित मिति :  18 May, 2025 3:05 pm


दाङ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको चौथो बैठकमा बोल्दै प्रदेशसभा सदस्य मिनाकुमारी श्रेष्ठले शिक्षा र महिला अधिकारका विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै शिक्षा सुधार परिषद् तथा महिला परिषद् गठनको माग गरेकी छन् ।

श्रेष्ठले लुम्बिनी प्रदेशलाई स्मार्ट प्रदेश भनिए पनि शिक्षाको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै शिक्षालाई सुधार गर्न ‘लुम्बिनी शिक्षा सुधार परिषद्’ गठन गर्नुपर्ने प्रस्ताव राखिन् ।

“शिक्षा नै प्रदेशको समृद्धिको जग हो, तर अहिले शिक्षाको बेहाल अवस्थामा स्मार्ट प्रदेश भन्नु केवल नारामात्र भएको छ,” उनले भनिन् ।

शिक्षा क्षेत्रलाई पर्याप्त बजेट नदिइएकोप्रति असन्तुष्टि जनाउँदै, उनले शिक्षा क्षेत्रमा गुणात्मक सुधार ल्याउन पूर्वाधार, जनशक्ति र प्रविधिमा लगानी बढाउनुपर्ने धारणा व्यक्त गरिन् ।

त्यस्तै, महिला परिषद् गठनलाई अपरिहार्य बताउँदै, उनले प्रदेशमा महिला समस्या गम्भीर र बहुआयामिक भएको उल्लेख गरिन् । “महिला हिंसा, स्वास्थ्य, शिक्षा, रोजगारीलगायतका चुनौतीहरूसँग जुझ्न सक्षम नीति निर्माण र त्यसको कार्यान्वयन गर्न महिला परिषद् गठन अब टार्नै नसकिने विषय भएको हो,” श्रेष्ठले भनिन् ।

उनले प्रदेश सरकारलाई महिला समस्या समाधानका लागि स्पष्ट प्रतिबद्धता सहितको नीति ल्याउन आग्रह गर्दै समावेशी र न्यायोचित समाज निर्माणका लागि तत्काल पहल गर्न जोड दिइन् ।

श्रेष्ठको भनाइमा शिक्षा र महिला सशक्तीकरणले मात्र लुम्बिनी प्रदेशले दाबी गरेको ‘स्मार्ट’ उपाधिलाई सार्थकता दिन सकिने उल्लेख गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !