१९ मंसिर २०८२, शुक्रबार
लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको चौथो बैठक

कृषिमा प्राथमिकता मात्र होइन, बजेटीय प्रतिबद्धता पनि चाहिन्छ-सांसद निर्मलादेवी थारु

प्रकाशित मिति :  18 May, 2025 3:21 pm


दाङ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको चौथो बैठकमा प्रदेशसभा सदस्य निर्मलादेवी थारुले कृषिमा प्राथमिकता दिने भनिए पनि बजेटको अभावले नीति कार्यान्वयनमा प्रभाव नपुगेकोप्रति गम्भीर ध्यानाकर्षण गराएकी छन् ।

उनको भनाइमा, “नीति तथा कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकता दिइएको उल्लेख गरिए पनि त्यसअनुसारको बजेट व्यवस्थापन नगरिएकाले कृषि क्षेत्रमा ठोस सुधार हुन सकेको छैन ।”

आत्मनिर्भर प्रदेशको निर्माणका लागि कृषिमा ठोस लगानी आवश्यक भएको उल्लेख गर्दै उनले सरकारलाई नीति र कार्यान्वयनबीचको दूरी घटाउन आग्रह गरिन् ।

थारुले कृषिलाई आत्मनिर्भरताको आधार मान्दै राज्यको प्राथमिक लगानी यही क्षेत्रमा जानुपर्ने आवश्यकता औंल्याइन् । “कृषि क्षेत्रमा लगानी बढाउने हो भने मात्र प्रदेशले आर्थिक आत्मनिर्भरता हासिल गर्न सक्छ,” उनले भनिन् ।

त्यस्तै, उनले प्रत्यक्ष निर्वाचित र समानुपातिक प्रदेशसभा सदस्यहरूबीच बजेट तथा सुविधा व्यवस्थापनमा गरिने भेदभावप्रति असन्तुष्टि जनाउँदै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

“जनताको प्रतिनिधि भएर आएका सबै सदस्य बराबरी हैसियतमा हुनु पर्छ, तर व्यवहारमा त्यस्तो देखिँदैन,” थारुले भनिन्। उनको भनाइमा, समावेशी लोकतन्त्रमा सबै प्रतिनिधि प्रति समान व्यवहार हुनु लोकतान्त्रिक मर्यादाको मर्म हो र प्रदेश सरकारले यस विषयमा स्पष्ट दृष्टिकोण लिनुपर्छ।



प्रतिक्रिया दिनुहोस !