१९ मंसिर २०८२, शुक्रबार
लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको चौथो बैठक

रुकुम पूर्वका ८ वडामा अझै सडक पुगेको छैन, यसका लागि बजेटकाे व्यवस्था गरियाेस-प्रदेशसभा सदस्य केसी

प्रकाशित मिति :  18 May, 2025 3:26 pm


दाङ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको चौथो बैठकमा प्रदेशसभा सदस्य धनबहादुर केसीले रुकुम पूर्वको दुर्गम र पिछडिएको अवस्थालाई उठाउँदै समावेशी विकास र आधारभूत पूर्वाधार निर्माणमा बजेट सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले प्रदेश सरकारसमक्ष समानुपातिक बजेट वितरणको माग गर्दै रुकुम पूर्वको भौगोलिक विकटता र समग्र विकासबाट पछाडि पारिएको अवस्थालाई सम्बोधन गर्न विशेष बजेटीय व्यवस्था गर्नुपर्ने बताएका छन् ।

“जिल्लाका ३१ वटै वडामध्ये अझै ८ वटामा सडक सञ्जाल पुगेको छैन,” केसीले भने, “यी क्षेत्रलाई सडक पहुँचमा ल्याउन तत्काल बजेट व्यवस्था गरिनुपर्छ ।”

उत्पादनमुखी कृषि प्रणालीलाई प्रवर्द्धन गर्न विशेष बजेटको आवश्यकता रहेको उल्लेख गर्दै केसीले स्थानीय बालीमा आधारित कृषि विस्तार कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखे । “हामी आत्मनिर्भर बन्न चाहन्छौं भने कृषिमा लगानी बढाउनैपर्छ,” उनले जोड दिए ।

स्वास्थ्य सेवा सम्बन्धमा बोल्दै केसीले रुकुम पूर्वमा हालसम्म जनरल फिजिसियन डाक्टर नहुनु अत्यन्तै दुःखद विषय भएको उल्लेख गरे। “जिल्लावासी सामान्य स्वास्थ्य समस्या लिएरै अन्य जिल्लामा धाउन बाध्य छन्,” उनले भने, “प्रदेश सरकारले जनरल फिजिसियनसहित आधारभूत स्वास्थ्य संरचना मजबुत बनाउनतर्फ तुरुन्त ध्यान दिनुपर्छ ।”

केसीले प्रदेश सरकारको नीति तथा कार्यक्रमले दुर्गम क्षेत्रलाई पनि समेट्ने आशा व्यक्त गर्दै वास्तविक समावेशी विकास तबमात्र सम्भव हुन्छ जब नीति, बजेट र कार्यान्वयन दुर्गमसम्म पुग्छन् भन्ने धारणा प्रस्तुत गरे।



प्रतिक्रिया दिनुहोस !