१९ मंसिर २०८२, शुक्रबार
लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको चौथो बैठक

लुम्बिनीको विकासमा सरकारकाे ध्यान जानुपर्छ-सांसद कनैया बानिया

प्रकाशित मिति :  18 May, 2025 3:38 pm


दाङ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको चौथो बैठकमा प्रदेशसभा सदस्य कनैया बानियाले लुम्बिनी क्षेत्रको समग्र विकासमा प्रदेश सरकारको चासो अभावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

बानियाले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रलाई सरकारले पर्याप्त प्राथमिकता नदिएको आरोप लगाउँदै, यसको संरक्षण, प्रवर्द्धन र पूर्वाधार विकासमा प्रदेश सरकारले नेतृत्व लिनुपर्ने माग गरे ।

“लुम्बिनी बौद्ध सभ्यताको केन्द्र मात्रै होइन, हाम्रो सांस्कृतिक, धार्मिक र आर्थिक सम्भावनाको मेरुदण्ड हो,” उनले भने । त्यस्तै उनले लुम्बिनी विकासको मेरुदण्डको रूपमा अपेक्षा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अझै पूर्ण सञ्चालनमा आउन नसक्नु दुर्भाग्यपूर्ण भएको भन्दै प्रदेश सरकारको ध्यान यसतर्फ केन्द्रित गरिनुपर्ने माग राखे ।

“यो विमानस्थल चलायमान भए मात्र लुम्बिनीले पर्यटन र आर्थिक विकासमा फड्को मार्न सक्छ,” बानियाको भनाइ थियो । बानियाले भारतले लुम्बिनी करिडोरको योजनामा चासो देखाइरहँदा नेपाल सरकार मौन रहेकोप्रति गम्भीर आपत्ति जनाउँदै, यो रणनीतिक करिडोरको विकासमा नेपाल सरकारले स्पष्ट नीति ल्याउनुपर्ने बताए । “दुवै देशको हित हुने गरी यो करिडोर खुला हुनुपर्छ,” उनले जोड दिए ।

अन्त्यमा बानियाले संघीय शासन प्रणाली कार्यान्वयनको अवस्था आउँदा पनि प्रदेश सरकारले आफ्ना अधिकार प्रयोग गर्न नखोजेको टिप्पणी गर्दै, अब प्रदेशले आत्मविश्वासका साथ आफ्नो अधिकार क्षेत्र विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे । “संघीयता लागू भइसकेको अवस्थामा प्रदेशले केवल ‘निर्देशन पर्खने’ प्रवृत्तिबाट बाहिरिनुपर्छ,” उनले भने ।

उनको भनाइमा, लुम्बिनी प्रदेशको समृद्धिको मार्ग आफ्नै अधिकार प्रयोग गर्ने र ऐतिहासिक सम्पदाको उपयोग गर्ने नीतिबाट मात्र खुल्न सक्छ ।



प्रतिक्रिया दिनुहोस !