गौतमबुद्ध विमानस्थलकाे हिनामिनाको छानबिन होस्-प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ता

दाङ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको चौथो बैठकमा प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अव्यवस्थित सञ्चालन र खर्चको पारदर्शिताको अभावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
गुप्ताले ८०६ विघा क्षेत्रफलमा फैलिएको विमानस्थल नियमित रुपमा सञ्चालनमा नआएको भन्दै त्यसको मूल कारण स्पष्ट पार्न सरकारसँग माग गरे । उनले विमानस्थल निर्माणमा खर्च भएको रकममा हिनामिनाको आशंका रहेको भन्दै छानबिन प्रक्रिया तत्काल अघि बढाइनु पर्ने धारणा राखे ।
“गौतमबुद्धको जन्मभूमिमा बनाइएको अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटक भित्र्याउने मुख्य प्रवेशद्वार बन्नुपर्ने हो, तर अहिले सम्म पनि पूर्ण सञ्चालनमा आउन नसक्नु प्रदेशकै विफलता हो,” गुप्ताले भने ।
सांसद गुप्ताले बुद्धभूमिलाई विश्वभरका पर्यटकको गन्तव्य बनाउने लक्ष्यलाई साकार पार्न विमानस्थलको नियमित सञ्चालन अपरिहार्य भएको बताए । उनले पर्यटन विकासलाई आर्थिक समृद्धिको आधार मान्दै, यसमा प्रदेश सरकारको स्पष्ट प्रतिबद्धता माग गरे ।
त्यस्तै, उनले सिद्धार्थ रंगशालाको निर्माणलाई लुम्बिनी प्रदेश सरकारको गौरवको योजना मानिँदै आएको बताउँदै, बजेट अभावका कारण यो आयोजनामा ढिलाइ हुन नदिन सरकारलाई आग्रह गरे । “खेलकुद पूर्वाधारले युवा विकास, पर्यटन र राष्ट्रिय गौरव बढाउँछ,” उनले भनिन्, “सिद्धार्थ रंगशालालाई प्राथमिकता दिइनुपर्छ।”
गुप्ताले प्रदेश सरकारलाई पूर्वाधारको विकास, पारदर्शिता, र बजेटको प्रभावकारी उपयोगमा जिम्मेवार बन्न आग्रह गर्दै लुम्बिनीलाई अन्तर्राष्ट्रिय चिनारी दिन यस्ता संरचनाको शीघ्र सञ्चालन आवश्यक रहेको बताए ।