बर्दिया अस्पतालको स्तरोन्नति गर्न सांसद प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीकाे माग

दाङ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको चौथो बैठकमा प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले स्वास्थ्य, विपद् व्यवस्थापन, सामाजिक समावेशिता र कृषि प्रवर्द्धनका विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन् ।
चौधरीले बर्दिया जिल्ला अस्पतालको स्तरोन्नति गर्न आवश्यक बजेट विनियोजन गर्न सरकारलाई आग्रह गर्दै भने, “बर्दियावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालमा संरचना र जनशक्ति अभिवृद्धि आवश्यक छ ।”
त्यस्तै, उनले मानखोलामा बाढी नियन्त्रणका लागि तटबन्द निर्माण अत्यावश्यक रहेको भन्दै त्यसका लागि बजेटको व्यवस्था मिलाउनुपर्ने बताए । “प्रत्येक वर्षको बाढीले स्थानीय जनतालाई भयावह संकटमा पारिरहेको छ,” उनले उल्लेख गरे ।
चौधरीले बजेट विनियोजनमा समावेशी र समानुपातिक सिद्धान्त लागू हुनुपर्नेमा जोड दिँदै, प्रदेश सरकारले लक्षित वर्ग र सीमान्तकृत समुदायका लागि विशेष बजेटको व्यवस्था गर्नुपर्ने माग गरे । “असली सामाजिक न्याय भनेकै अवसरको पहुँच सबैतिर पुगोस् भन्ने हो,” उनले भने ।
सांसद चौधरीले परम्परागत सीपहरूको संरक्षण र प्रवर्द्धन गर्न कार्यक्रम ल्याइनुपर्ने सुझाव दिंदै, ती सीपहरूलाई रोजगारीसँग जोड्नुपर्ने धारणा व्यक्त गरे । “हाम्रा समुदायमा गहिरो परम्परा र सीप छन्, तिनलाई नयाँ पुस्तासँग जोडेर जीविकोपार्जनको स्रोत बनाउन सकिन्छ,” उनले भने ।
अन्त्यमा उनले बीउको पहुँच सबै किसानसम्म पुर्याउन ‘बीउ बैंक’ स्थापना गर्नुपर्ने माग गर्दै, कृषि आत्मनिर्भरताका लागि स्थानीय स्तरमै बीउको उत्पादन र संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताए । उनले प्रदेश सरकारलाई पूर्वाधार विकास, सामाजिक न्याय र कृषि सुधारमा केन्द्रित बहुआयामिक नीति ल्याउन आग्रह गरे ।