देउखुरीमा नमुना राजधानी सहर निर्माणका लागि स्राेत परिचालन प्राथमिकतामा
दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममा देउखुरी उपत्यकालाई नमुना राजधानीको रूपमा विकास गर्ने योजनालाई उच्च प्राथमिकता दिइएको छ।
सोमबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा नदी सभ्यतासँग जोडिएको भर्जिन ल्याण्ड देउखुरी उपत्यकामा आधुनिक राजधानी निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गर्ने उल्लेख गरिएको छ।
नीति कार्यक्रममा सरकारका प्रशासकीय संरचनाहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै अबको कार्यकालमा सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै भौतिक पूर्वाधार सुदृढ गर्ने लक्ष्य लिइएको छ।
सुशासन प्रवर्द्धन र भ्रष्टाचार निर्मूलनका लागि सरकारले पाँचवर्षे कार्ययोजना तयार पारी कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाएको छ। सार्वजनिक सेवामा पारदर्शिता, जवाफदेहिता र नागरिकमैत्री प्रणाली विकास गर्दै प्रदेशलाई अब्बल प्रदेश बनाउने लक्ष्य लिएको बताइएको छ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा विकासका प्राथमिकता प्राप्त क्षेत्रमा स्रोत केन्द्रित गर्ने, समावेशी र सन्तुलित योजना कार्यान्वयन गर्ने तथा संविधानले प्रत्याभूत गरेका अधिकारको पूर्ण उपयोग गर्दै नागरिकको जीवनस्तर उकास्ने रणनीति अघि सारेको छ।








