कांग्रेसभित्र एकताको विकल्प छैन-प्रवक्ता डा. महत
काठमाडाैँ । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले पार्टीभित्र एकताको विकल्प नरहेको स्पष्ट पारेका छन् । नेपाली कांग्रेस भानु नगरसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले पार्टी बलियो बनाउन आन्तरिक सहमति र एकता अपरिहार्य रहेको बताए ।
“पार्टीभित्रका कमजोरी सुधार्दै संगठनलाई बलियो बनाउनु अहिलेको प्रमुख कार्यभार हो,” डा. महतले भने, “कांग्रेस बलियो भएमात्र अन्य राजनीतिक दलसँग प्रभावकारी ढंगले प्रतिस्पर्धा गर्न सकिन्छ।”
उनले नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकमा उल्लेखनीय विकास भएका उल्लेख गर्दै ती उपलब्धिको प्रचारप्रसार अझ सशक्त रूपमा गर्नुपर्नेमा जोड दिए । “विकास र लोकतन्त्रका लागि कांग्रेसले खेलेको भूमिकाबारे जनतालाई जानकारी दिन अब ढिलाइ गर्नु हुँदैन,” उनको भनाइ थियो।
कार्यक्रममा कांग्रेसका वैकल्पिक केन्द्रीय सदस्य पुष्पराज पराजुली, जिल्ला कार्यसमितिका उपसभापति देवकुमार श्रेष्ठ, सचिव सहदेव अधिकारी, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतको सहभागिता रहेको थियो।
कार्यक्रमले संगठन सुदृढीकरण, स्थानीय तहमा पार्टीको भूमिकालगायत विषयमा पनि छलफल गरेको आयोजक समितिले जनाएको छ।








