२० मंसिर २०८२, शनिबार

एमालेलाई स्पष्ट बहुमतमा ल्याउने मिसन २०८४ मा जुट्न जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह

प्रकाशित मिति :  25 May, 2025 2:28 pm


ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्नुपर्ने बताएका छन्।

नेकपा (एमाले) को बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले जनतालाई छिटो र सहज सेवाका साथै विकास र सुशासन कायम गर्ने क्रममा निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख अरू पार्टी र पक्षसँग पनि राम्रो सम्बन्ध कायम गरी काम गर्न आग्रह गरेका हुन् ।

“तपाईँहरू पार्टीबाट निर्वाचित भएर जिम्मेवारीमा गएको हो । निर्वाचन जितेपछि चङ्गाको धागो काटिए जस्तो पार्टीसँगको सम्पर्क काटिनु हुँदैन । मैले जितेँ, मलाई अरु मतलव छैन भन्न मिल्दैन । अर्काे निर्वाचन पनि आउँछ । त्यसकारण तपाईँहरूले अहिले पार्टीका नीति, निर्देशनहरुलाई पालना गर्दै देश र जनताको सेवामा सक्रिय रहनुपर्छ”, प्रधानमन्त्री ओलीले भने ।

राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्वहरु सल्बलाउँदा एमालेहरूको मनोबल गिर्न नहुने उल्लेख गर्दै उहाँले लाज नमानीकन जनतालाई रैती हुन पाउँ भन्नेहरुले फैलाउने भ्रम चिर्न आग्रह गरे । अध्यक्ष ओलीले प्रतिगामीहरुले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहन पनि निर्देशन दिए ।

अहिले भ्रष्टाचारीहरू र सहकारी पीडितले उल्टै भ्रष्टाचारको विरोध र सहकारीलाई न्याय देजस्ता आवाज उठाएर जनतामा भ्रम छरेको पनि अध्यक्ष ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) ले २०६४ सालमा आफ्ना लडाकू क्याम्पमा राखेर र मार्चपास गराएर जनतालाई तर्साएर आतंकको राज गरेकाले त्यसबेला आफूहरू पराजित भए पनि माओवादीले २०६४ सालको जस्तो परिणाम ल्याउने सपना देख्नुमा कुनै दम नभएको स्पष्ट पारे।



प्रतिक्रिया दिनुहोस !